काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् समन्वय बोर्डको पहिलो बैठक आज बोलाएको छ।
संसद् भित्र आफ्नो भूमिकालाई अझ सुदृढ बनाउन र सरकारप्रति प्रभावकारी निगरानी बढाउने रणनीति तय गर्ने तयारीका रूपमा यो बैठकलाई हेरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार संसदीय दलको विधान (संशोधनसहित, २०८३) को धारा २१ अनुसार गठित बोर्डको बैठक आज दिउँसो ३ बजे ललितपुरस्थित बीपी स्मृति भवनमा बस्नेछ।
राजनीतिक वृत्तमा यो बैठकलाई संसद्मा विपक्षीको भूमिका कति सशक्त हुन्छ भन्ने संकेतका रूपमा पनि हेरिएको छ।
विशेषगरी सरकारका पछिल्ला निर्णय, विधेयक प्रक्रिया र संसद् सञ्चालनमा देखिएका विवादका बीच कांग्रेसले आफ्नो रणनीति पुनःनिर्धारण गर्ने अपेक्षा गरिएको छ।
बैठकमा संसद् समन्वय, नीति प्रतिवाद, तथा आगामी राजनीतिक कार्यदिशाबारे छलफल हुने बताइएको छ।
पार्टीले सबै बोर्ड सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

