काठमाण्डौं । सुनसरीको दुहवीमा फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड को १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
ग्रामीण महिला उत्सुकता विकास मञ्च -फरवार्ड_ अन्तर्गत सञ्चालन हुँदै आएको संस्थाको उक्त सभा पूर्वमन्त्री भगबती चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै पूर्वमन्त्री चौधरीले लघुवित्त कार्यक्रमले ग्रामीण महिलाको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै संस्थाको तीन दशक लामो योगदानलाई सफलताको उदाहरणका रूपमा व्याख्या गरिन ।
उनले ऋण मिनाहा हुने भ्रममा नपर्न आग्रह गर्दै लिएको कर्जालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिइन ।
सभामा स्थानीय जनप्रतिनिधि, वित्तीय क्षेत्रका प्रतिनिधि तथा शेयरधनीहरूले लघुवित्त क्षेत्रका अवसर र चुनौतीबारे धारणा राखेका थिए।
वक्ताहरूले पछिल्ला वर्षमा देखिएका नकारात्मक धारणा र चुनौतीलाई सम्बोधन गर्दै संस्थागत सुधार र इमान्दारिताको आवश्यकता औंल्याए।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले संस्थाको सबलता र विस्तारका लागि निरन्तर प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा विभिन्न वित्तीय विवरणहरू पारित गरेको छ।
साथै, आगामी वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिकसम्बन्धी प्रस्ताव पनि स्वीकृत गरिएको छ।
सभाले सञ्चालक समितिको निर्वाचन प्रक्रिया सम्पन्न गर्दै विभिन्न समूहबाट प्रतिनिधिहरू चयन गरेको छ।
यसअनुसार संस्थापक तथा सर्वसाधारण शेयरधनी समूहबाट नयाँ सञ्चालकहरू चयन भएका छन्।
पुँजी संरचनामा समेत संशोधन गर्दै संस्थापक र सर्वसाधारण शेयर अनुपात परिवर्तन गर्ने प्रस्ताव पारित गरिएको छ।
संस्थाका अनुसार हालसम्म ४० जिल्लाका ३८२ स्थानीय तहमा २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारलाई वित्तीय सेवा प्रदान गरिएको छ।
साथै, १ लाखभन्दा बढी ऋणी ग्राहकमार्फत अर्बौँ रुपैयाँ कर्जा प्रवाह गरिएको र बचत संकलन पनि उल्लेख्य रहेको बताइएको छ।
संस्थामा कार्यरत ६९५ कर्मचारीमध्ये आधाभन्दा बढी महिला रहेको र ग्राहकलाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिँदै आएको पनि सभामा जानकारी दिइएको छ।

