काठमाण्डौ । इरान अमेरिका युद्धपश्चात निरन्तर वृद्धि भईरहेको इन्धनको मूल्य तत्कालै नघट्ने देखिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले सरकारले पेट्रोलियम पदार्थ लगायतका इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको बताएका हुन् ।
उनले आज संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै यस्तो बताएका हुन् । इन्डियन आयल कर्पोरेसनले तोकेको मूल्यअनुसार बिक्री गर्नुपर्ने भएकाले इन्धनको मूल्य घटाउन सकिने अवस्था नरहेको उनले स्पष्ट पारे । सोही कारण पेट्रोलियम पदार्थ तथा अन्य इन्धनको मूल्य बढाउनु पर्ने बाध्यता रहेको समेत उनले अवगत गराए ।
सरकारले घाटा खाएर भएपनि यसको व्यापार गरिरहेको उनले दाबी गरे । उनले जनतालाई अधिक आर्थिक बोझ नपरोस् भन्ने अभिप्रायले स्वचालित मूल्यमा इन्धनको बिक्री नगरेको समेत स्पष्ट पारे ।

