काठमाण्डौं । सिंहदरबारभित्रै सञ्चालित क्यान्टिनमा म्याद गुज्रिएको खाद्य वस्तु बिक्री भएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कडा कारबाही गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिसरमा रहेको ‘हाम्रो खाजा घर’मा अनुगमनका क्रममा म्याद नाघेको दही बिक्री भइरहेको भेटिएपछि विभागले २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको हो ।
विभागका अनुसार उपभोक्ताबाट प्राप्त उजुरीपछि बुधबार गरिएको आकस्मिक निरीक्षणमा उक्त अनियमितता फेला परेको हो ।
उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गतको प्रावधान उल्लङ्घन गरेको ठहर गर्दै ऐनअनुसार जरिवाना गरिएको जनाइएको छ ।
यससँगै विभागले दही उत्पादन गर्ने ‘श्री कृष्ण डेरी फर्म’लाई आफ्नो व्यवसाय दर्तासम्बन्धी कागजात पेश गर्न निर्देशन दिएको छ ।

साथै ‘हाम्रो खाजा घर’लाई सो दही खरिद गरेको बिलसहित तीन दिनभित्र विभागमा उपस्थित हुन भनिएको छ ।
सिंहदरबारजस्तो संवेदनशील सरकारी परिसरभित्रै अखाद्य वस्तु बिक्री भएको घटनापछि विभागले बजार अनुगमनलाई अझ कडा बनाउने संकेत दिएको छ ।

