काठमाण्डौं । ठमेलस्थित सार्वजनिक कमलपोखरी मासेर निर्माण गरिएको छायादेवी कम्प्लेक्स तत्काल भत्काउन माग गर्दै सम्पदा संरक्षण अभियानले प्रदर्शन गरेको छ।
सम्पदा संरक्षण नेपालका सभापति कबिर डङ्गोललगायत अभियन्ताहरूले बिहीबार माइतीघर मण्डलामा भेला भई प्रदर्शन गरेका हुन्।
उनीहरूले संरचना हटाउन र ऐतिहासिक सम्पदा पुनःस्थापना गर्न माग गर्दै सर्वोच्च अदालततर्फ संकेतसहित नाराबाजी गरेका थिए।
प्रदर्शनकारीहरूले सार्वजनिक पोखरी जस्तो ऐतिहासिक सम्पदा क्षेत्रलाई मासेर व्यावसायिक भवन निर्माण गर्नु गलत अभ्यास भएको भन्दै यसले शहरी सम्पदा संरक्षण नीतिमाथि गम्भीर प्रश्न उठाएको बताएका छन्।
अभियन्ताहरूका अनुसार सार्वजनिक सम्पदा संरक्षणमा कमजोरी देखिँदा यस्ता संरचना निर्माणले भविष्यमा अन्य सम्पदा क्षेत्रहरू पनि जोखिममा पर्न सक्ने चिन्ता बढेको छ।

