काठमाण्डौं । मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा शुक्रबार बिहान फेरि पहिरो खस्दा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
इच्छाकामना गाउँपालिका–५ मा माथिबाट ढुंगा र माटोसहितको सुख्खा पहिरो झरेपछि सडक दुवैतर्फ बन्द भएको हो ।
केही दिनदेखि लगातार ढुंगा खसिरहेकाले उक्त सडकमा एकतर्फी मात्र यातायात सञ्चालन हुँदै आएको थियो ।
बिहीबारदेखि मात्रै दुईतर्फी रूपमा सवारी सञ्चालन शुरु गरिएको भएपनि शुक्रबार बिहानको पहिरोले फेरि सडक अवरुद्ध बनाएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक अवरुद्ध भएपछि काठमाडौं भित्रिने तथा पोखरा, चितवन र अन्य जिल्लातर्फ गइरहेका सवारी साधन लामो समयदेखि रोकिएका छन् ।
सार्वजनिक यातायात, निजी गाडी र मालवाहक ट्रकहरूसमेत बीच बाटोमै अलपत्र परेका छन् ।
पहिरो हटाउन डोजर, एक्साभेटरलगायत उपकरण परिचालन गरिएको छ ।
सुरक्षाकर्मी र प्राविधिक टोलीले सडक खुलाउने प्रयास गरिरहेका छन् ।
तर , ठूलो परिमाणमा ढुंगा खसेकाले पूर्ण रूपमा सडक सञ्चालनमा ल्याउन समय लाग्ने जनाइएको छ ।
वर्षा शुरु भएसँगै यो सडकखण्डमा पहिरोको समस्या दोहोरिन थालेको छ ।
विशेषगरी तुइनखोला आसपासको भू-भाग उच्च जोखिममा पर्ने गरेको छ ।
गतवर्षको वर्षायाममा पनि यही क्षेत्रमा पटक–पटक पहिरो जाँदा यात्रुहरूले घण्टौँ सास्ती खेप्नुपरेको थियो ।
तराई र राजधानी काठमाडौंलाई जोड्ने प्रमुख सडक भएकाले यहाँ हुने अवरोधले हजारौँ यात्रु प्रत्यक्ष प्रभावित हुने गरेका छन् ।
प्रहरीले यात्रु र चालकलाई सतर्कता अपनाएर मात्रै यात्रा गर्न आग्रह गरेको छ ।

