काठमाण्डौं । दक्षिणी रुसमा हवाई नेभिगेसन शाखासम्बन्धी प्रशासनिक भवनमा युक्रेनी ड्रोन आक्रमण भएपछि त्यहाँका १३ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएको छ।
रुसी यातायात मन्त्रालयले शुक्रबार जारी गरेको विवरणअनुसार आक्रमणपछि हवाई ट्राफिक व्यवस्थापन प्रणालीमा तत्काल परिवर्तन गरिएको हो।
मन्त्रालयका अनुसार रोस्तोभ–अन–डनमा रहेको क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रलाई लक्षित गरी गरिएको आक्रमणपछि दक्षिणी रुसको उडान सञ्चालनमा ठूलो असर परेको छ।
प्रभावित क्षेत्रमा हवाई ट्राफिक व्यवस्थापन प्रक्रियाहरू अस्थायी रूपमा पुनःसंरचना गरिएको जनाइएको छ।
विज्ञप्तिमा सबै कर्मचारी सुरक्षित रहेको उल्लेख गर्दै प्राविधिक टोलीले उपकरणको अवस्था तथा सम्भावित क्षतिको विस्तृत मूल्याङ्कन गरिरहेको बताइएको छ।
त्यसैगरी, रुसी यातायात मन्त्रालय र सङ्घीय हवाई यातायात एजेन्सीले एयरलाइन्स तथा विमानस्थलहरूसँग समन्वय गरी उडान तालिका पुनःनिर्धारण तथा हवाई सेवा क्रमशः सामान्य बनाउने प्रयास जारी राखेको जनाएको छ।
एजेन्सी

