काठमाण्डौं । भारतबाट रातिको समयमा प्रवेश गर्ने जङ्गली हात्तीको बथानले सीमा क्षेत्रका किसानको बाली नष्ट गर्न थालेपछि मेचीनगरको बाहुनडाँगी क्षेत्रमा त्रास बढेको छ ।
मेचीनगर नगरपालिका–१, ४ र ५ का क्षेत्रमा पछिल्ला एक सातादेखि भारतको आसाम क्षेत्रबाट आउने करिब ३० देखि ४० वटा हात्तीको समूहले राति खेतबारीमा प्रवेश गरी पाक्न लागेको मकै, सुपारीलगायत बालीमा ठूलो क्षति पुर्याइरहेको स्थानीयवासीले बताएका छन् ।
स्थानीय जनप्रतिनिधिका अनुसार दिनभर भारतीय वन क्षेत्रमा रहने हात्तीहरू साँझपख समूहबाट छुट्टिएर नेपाल प्रवेश गर्ने र बाली नष्ट गर्ने क्रम नियमित जस्तै बनेको छ, जसले कृषकहरूमा असुरक्षा र त्रास बढाएको छ ।
हात्ती नियन्त्रण तथा सुरक्षा व्यवस्थापनका लागि सर्वपक्षीय बैठकपछि सुरक्षाकर्मी, वन कर्मचारी र र्यापिड रेस्पोन्स टिम परिचालन गरिएको छ ।
साथै साँझ ६ बजेपछि सीमावर्ती क्षेत्रमा सर्वसाधारणको आवतजावत रोक्ने, माइकिङमार्फत सचेतना फैलाउने, ट्रयाक्टर प्रयोग गरी हात्ती खेदाउने तथा इन्धन नगरपालिकाले उपलब्ध गराउने निर्णय गरिएको छ ।
मानव–हात्ती द्वन्द्व व्यवस्थापन मञ्चका अनुसार बाहुनडाँगी क्षेत्रमा करिब १८ किलोमिटर सौर्य तारबार जडान भएपनि ब्याट्री मर्मत तथा संरचनागत कमजोरीका कारण यसको प्रभावकारिता घटेको छ ।
करिब ३० लाख रुपैयाँको लागतमा तारबार मर्मतको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
स्थानीयका अनुसार हात्तीको आक्रमणले मकैबाली नष्ट हुनुका साथै सुपारीका बोट भाँचिएका छन् ।
पछिल्ला महिनामा हात्तीको आक्रमणबाट तीन जना घाइते भएका र करिब १५ घरमा क्षति पुगेको पनि बताइएको छ ।
स्थानीय र सरोकारवालाले भारतसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

