काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनासम्म सरकारको कुल खर्च १० खर्ब ५९ अर्ब ९५ करोड पुगेको छ। महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार समीक्षा अवधिमा चालु, पुँजीगत तथा वित्तीय व्यवस्था शीर्षकमा उक्त खर्च भएको हो।
कार्यालयका अनुसार समीक्षा अवधिमा चालु खर्च ७ खर्ब ४७ अर्ब ५२ करोड पुगेको छ भने पुँजीगत खर्च ९६ अर्ब २० करोड रहेको छ। यस्तै वित्तीय व्यवस्था खर्चतर्फ २ खर्ब १६ अर्ब २३ करोड खर्च भएको जनाइएको छ।
त्यसैगरी, समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन ८ खर्ब ८६ अर्ब २८ करोड पुगेको छ। उक्त राजस्वमा प्रदेश तथा स्थानीय तहमा बाँडफाँड हुने रकमसमेत समावेश गरिएको छ।
राजस्वतर्फ कर राजस्वबाट ७ खर्ब ९८ अर्ब ७७ करोड संकलन भएको छ भने गैरकर राजस्वबाट ८७ अर्ब ५१ करोड परिचालन भएको तथ्यांकमा उल्लेख छ।

