काठमाण्डौं । ताप्लेजुङ र तेह्रथुमलाई जोड्ने बसन्तपुर–गुफापोखरी–फुङलिङ (मदन भण्डारी मार्ग) खराब अवस्थाका कारण यात्रु, चालक, किसान र व्यवसायी सबै प्रभावित भएका छन्।
तीनजुरे-मिल्के-जलजले क्षेत्रसहित प्रमुख पर्यटकीय गन्तव्य जोड्ने यो सडक वर्षौंदेखि स्तरोन्नति नहुँदा धुलो, हिलो र खाल्डाखुल्डीले जोखिमपूर्ण बनेको छ।
हिउँदमा धुलो र वर्षायाममा हिलोका कारण सवारी आवतजावत कठिन हुने, दुर्घटनाको जोखिम बढ्ने तथा गाडी सञ्चालन महँगो र असहज हुने अवस्था छ।
पर्यटन व्यवसायीका अनुसार सडककै कारण पर्यटक आगमन घटेको छ भने धेरै पर्यटक बीचमै फर्किने गरेका छन्।
किसानहरूलाई पनि उत्पादन बजारसम्म पुर्याउन ढुवानी समस्या र लागत वृद्धि भइरहेको छ।
स्थानीयले यो मार्गलाई पूर्वी पहाडको “जीवनरेखा” भन्दै तत्काल स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन्।
पटक–पटक आश्वासन दिइए पनि दीर्घकालीन सुधार नहुँदा असन्तुष्टि बढेको छ।

