काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी पहिलो महाधिवेशनलाई लक्षित गर्दै देशव्यापी संगठन विस्तार र अधिवेशन सञ्चालनलाई तीव्रता दिने निर्णय गरेको छ।
महाधिवेशनअघि वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशन सम्पन्न गर्ने उद्देश्यसहित पार्टीले केन्द्रीय नेताहरूलाई विभिन्न जिम्मेवारीमा खटाएको छ।
चितवनमा असार ७ देखि ९ गतेसम्म पहिलो केन्द्रीय महाधिवेशन गर्ने तयारीमा रहेको रास्वपाले त्यसअघि सबै तहका संगठनात्मक संरचना सुदृढ गर्ने रणनीति बनाएको हो।
पार्टीले संगठन विस्तारलाई व्यवस्थित र एकरूप बनाउन चरणबद्ध अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।
रास्वपाका अनुसार जहाँ संगठनात्मक संरचना अझै निर्माण भइसकेको छैन, त्यहाँ तदर्थ समिति गठन गरी प्रक्रिया अघि बढाइनेछ भने संगठन बनेका स्थानमा नियमित अधिवेशनमार्फत नेतृत्व चयन गरिनेछ।
सबै तहका अधिवेशन सम्पन्न भएपछि मात्र केन्द्रीय महाधिवेशनमा प्रवेश गर्ने नीति पार्टीले लिएको छ।
पार्टीले वडादेखि प्रदेशसम्मका अधिवेशन सञ्चालनका लागि स्पष्ट मिति पनि तय गरेको छ।
जसअनुसार वडा अधिवेशन जेठ २, ३ र १६ गते, पालिका अधिवेशन जेठ ९, १० र १७ गते, जिल्ला अधिवेशन जेठ २३ र २४ गते तथा प्रदेश अधिवेशन जेठ २६ देखि असार १ गतेसम्म सञ्चालन हुनेछन्।
संगठन विस्तार र अधिवेशन प्रक्रियालाई सहज बनाउन केन्द्रीय प्रतिनिधिहरूलाई विभिन्न जिल्लामा खटाइएको छ।
केही सांसदहरूलाई उनीहरूको गृहजिल्लाको जिम्मेवारी दिइएको छ भने जनसंख्या र भौगोलिक क्षेत्रफलका आधारमा केही जिल्लामा थप प्रतिनिधि परिचालन गरिएको छ।
यसअनुसार महामन्त्री कविन्द्र बुर्लाकोटीलाई गोरखा, सहमहामन्त्री विपिन आचार्यलाई दाङ, प्रवक्ता मनिष झालाई धनुषा, सहप्रवक्ता रमेश प्रसाईंलाई ताप्लेजुङ, पूर्व उपसभामुख इन्दिरा रानामगर र पूर्व सचेतक निशा डाँगीलाई झापा तथा सांसद रञ्जु दर्शनालाई काठमाडौं जिल्लाको संगठनात्मक जिम्मेवारी तोकिएको छ।
रास्वपाले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण र आन्तरिक लोकतान्त्रिक प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा अघि बढाउने जनाएको छ।

