काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ।
मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गर्दै आयोगका एक अध्यक्ष र चार सदस्य पदका लागि योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। चार सदस्यमध्ये एक पद महिलाका लागि सुनिश्चित गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नियुक्ति प्रक्रिया विद्युत् नियमन आयोग ऐन, २०७४ को दफा ५ बमोजिम अघि बढाइएको हो। इच्छुक उम्मेदवारले ऐनमा तोकिएको न्यूनतम शैक्षिक योग्यता तथा अनुभव पूरा गरेको हुनुपर्नेछ।
आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र मन्त्रालयअन्तर्गत विकास सहायता तथा प्राविधिक समन्वय महाशाखामा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यसअघि आयोगका अध्यक्षसहित चार सदस्य ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ अनुसार स्वतः पदमुक्त भएपछि आयोग नेतृत्वविहीन बनेको थियो। त्यसपछि सरकारले नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढाएको हो।
नयाँ पदाधिकारी सिफारिसका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराज भक्त श्रेष्ठले मन्त्रिस्तरीय निर्णयमार्फत तीन सदस्यीय सिफारिस समिति गठन गरेका छन्।
मन्त्रालयका सचिव चिरञ्जीवी चटौत को संयोजकत्वमा गठित समितिमा सहसचिव सागरराज गौतम र ऊर्जा विज्ञ सतिषनारायण जोशी सदस्य रहेका छन्।

