काठमाडौं । ममता बनर्जीविरुद्ध धार्मिक तथा साम्प्रदायिक भावना भड्काउने आरोपमा एफआईआर दर्ता भएपछि पश्चिम बंगालको राजनीति फेरि तातेको ।
विपक्षी भारतीय जनता पार्टी (भाजपा) निकट नेतृ तथा अधिवक्ता रिंकी चटर्जी सिंह ले साइबर क्राइम प्रहरीमा उजुरी दर्ता गराएकी हुन् ।
उजुरीमा ममता बनर्जीले धार्मिक कार्यक्रममा दिएको भनिएको अभिव्यक्तिले हिन्दू समुदायको भावनामा चोट पुर्याएको र सामाजिक सद्भाव बिगार्ने खतरा पैदा गरेको आरोप लगाइएको छ ।
विशेषगरी विधानसभा चुनावअघि कोलकाताको धर्मतल्ला क्षेत्रमा आयोजित राजनीतिक र्यालीमा उनले दिएको अभिव्यक्ति अहिले विवादको केन्द्र बनेको छ ।
प्रहरी स्रोतका अनुसार उजुरीमा ममताले “एउटा विशेष समुदायले चाहेमा अर्को समुदायलाई केही मिनेटमै समाप्त गर्न सक्छ” भन्ने आशयको टिप्पणी गरेको दाबी गरिएको छ ।
यही अभिव्यक्तिलाई लिएर साम्प्रदायिक तनाव भड्काउने प्रयास भएको आरोप लगाइएको हो ।
उजुरीकर्ता सिंहले सुरुवातमा प्रहरीले एफआईआर दर्ता गर्न आनाकानी गरेको तर लगातार दबाबपछि अन्ततः मुद्दा दर्ता गरिएको दाबी गरेकी छन् ।
प्रहरीले ममता बनर्जी विरुद्ध भारतीय दण्ड संहिताअन्तर्गत आपराधिक धम्की, जानाजानी अपमान तथा शान्ति भंग गर्न सक्ने गतिविधिसम्बन्धी धारामा मुद्दा दर्ता गरिएको जनाएको छ ।
भारतमा चुनावी गतिविधि तीव्र बन्दै गइरहेका बेला धार्मिक अभिव्यक्ति र साम्प्रदायिक टिप्पणीलाई लिएर राजनीतिक आरोप–प्रत्यारोप पनि चर्किन थालेका छन् ।
ममता बनर्जीविरुद्धको यो प्रकरणलाई तृणमूल कांग्रेस र भाजपा बीचको बढ्दो राजनीतिक ध्रुवीकरणको अर्को अध्यायका रूपमा समेत हेरिएको छ ।

