काठमाण्डौं । संघीय संसद्को नयाँ भवन समयमै तयार हुन नसकेपछि सरकारले आगामी आर्थिक वर्षको बजेट फेरि पुरानै बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्नुपर्ने अवस्था बनेको छ ।
निर्माणाधीन नयाँ संसद् हलको फिनिसिङ र प्राविधिक काम अझै नसकिएकाले १५ जेठको संयुक्त बैठक हाल सञ्चालन भइरहेकै संसद् हलमा राख्ने तयारी गरिएको हो ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार नयाँ संसद् भवनको मुख्य हलमा संयुक्त बैठक सञ्चालन गर्न आवश्यक तयारी समयमै पूरा हुने निश्चित नभएकाले पुरानै हल प्रयोग गर्नुपर्ने अवस्था आएको हो ।
उनले नयाँ भवनमा अझै निर्माण कार्य जारी रहेकाले १५ जेठको बजेट अधिवेशन नयाँ हलमा हुने सम्भावना कमजोर देखिएको बताएका छन् । यसले पटक–पटक म्याद थपिँदै आएको संसद् भवन निर्माण परियोजनामाथि फेरि प्रश्न उठाएको छ ।
संघीय संसद् सचिवालयले बजेट प्रस्तुतिको पूर्वतयारीसमेत पुरानै हलमै शुरु गरेको छ ।
बजेटअघि गरिने रिहर्सल पनि बिहीबार बहुउद्देश्यीय हलमै गर्ने तयारी गरिएको बताइएको छ ।
नयाँ संसद् भवन निर्माणको जिम्मा विशेष भवन आयोजनाले लिएको हो भने निर्माणको ठेक्का तुन्दी–सेक जेभीले पाएको थियो ।
प्रारम्भिक सम्झौताअनुसार भवन निर्माण २०७९ असोजमै सकिनुपर्ने थियो ।
२०७९ को निर्वाचनपछि आउने नयाँ प्रतिनिधिसभाको बैठक नयाँ भवनमै सञ्चालन गर्ने लक्ष्य राखेर २०७६ असोज १६ गते निर्माण सम्झौता गरिएको थियो ।
नयाँ संसद् भवनको शिलान्यास तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले २०७६ असोज १ गते गरेका थिए ।
अहिलेसम्म ६ पटक म्याद थप भइसकेको छ भने पछिल्लो पटक थपिएको ९० दिने समयसीमा पनि यही जेठभित्र सकिँदैछ ।

