काठमाण्डौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा लगातार दोस्रो दिन ठूलो गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको दबाबसँगै स्थानीय बजारमा पनि सुनको भाउ एकैदिन तोलामा ५ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको हो ।
अघिल्लो दिन पनि सुनको मूल्य १ हजार रुपैयाँले घटेको थियो ।
यससँगै दुई दिनमै सुनको भाउ कुल ६ हजार ५ सय रुपैयाँले घटेको देखिएको छ ।
केही दिनअघिसम्म लगातार उकालो लागेको सुन बजार अहिले तीव्र करेक्सनतर्फ गएको विश्लेषण गरिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य पनि घटेको छ ।
आज चाँदी तोलामा २ सय १५ रुपैयाँले ओरालो लाग्दै ४ हजार ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ८० रुपैयाँ कायम थियो ।
यसअघि गएको माघ १५ गते सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च बिन्दूमा पुगेको थियो ।
त्यसदिन एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँ बढेर सुनको भाउ ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो ।
चाँदीले पनि माघ महिनामै ऐतिहासिक उतारचढाव देखाएको थियो ।
माघ १५ गते चाँदीको मूल्य तोलामा ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो, जुन अहिलेसम्मकै उच्च मूल्य मानिन्छ ।
त्यसको तीन दिनपछि माघ १८ गते भने चाँदी एकैदिन १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो, जुन नेपाली बजारको सबैभन्दा ठूलो गिरावटमध्ये एक हो ।
व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव, अमेरिकी डलरको प्रभाव, लगानीकर्ताको मनोविज्ञान तथा विश्व आर्थिक अनिश्चितताले नेपाली बजारमा पनि प्रत्यक्ष असर पारिरहेको छ ।

