काठमाण्डौ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) मा देखिएको प्राविधिक समस्याका कारण बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेस गर्ने म्याद पुनः थप गरेको छ।
कार्यालयले मंगलबार जारी गरेको सूचनामा प्रणालीमा अत्यधिक चाप बढ्दा प्रयोगकर्ताहरूले सहज रूपमा पहुँच प्राप्त गर्न नसकेको उल्लेख गर्दै आवश्यक सेवाग्राहीहरूको हितलाई ध्यानमा राखी म्याद थप गर्ने निर्णय गरिएको जनाएको छ।
कार्यालयका अनुसार गत जेठ १८ गतेदेखि ई–जीपी प्रणालीमा प्राविधिक समस्या देखिएको थियो। विद्युतीय खरिद प्रणाली सञ्चालन निर्देशिका, २०८० को दफा ११ उपदफा (१) को खण्ड (ग) बमोजिम यसअघि जेठ १९ र २० गतेसम्मका लागि म्याद थप गरिएको भए पनि समस्या पूर्ण रूपमा समाधान नभएकाले पुनः समयावधि विस्तार गरिएको हो।
सूचनाअनुसार जेठ १९ गते म्याद समाप्त हुने सम्पूर्ण बोलपत्र, आशयपत्र तथा शिलबन्दी दरभाउपत्र पेस गर्ने अन्तिम समय २०८३ जेठ २० गते बुधबार मध्यान्ह १२ बजेसम्म कायम गरिएको छ। ती प्रस्तावहरू सोही दिन दिउँसो १ बजे खोलिनेछन्।
त्यसैगरी, जेठ २० गते म्याद समाप्त हुने प्रस्तावहरूको अन्तिम म्याद २०८३ जेठ २१ गते बिहीबार मध्यान्ह १२ बजेसम्म थप गरिएको छ। ती बोलपत्रहरू पनि सोही दिन दिउँसो १ बजे खोलिने कार्यालयले जनाएको छ।

