काठमाण्डौं । महानगर यातायात प्रा.लि.ले काठमाडौंको चक्रपथ क्षेत्रमा सेवा विस्तार गर्दै थप १६ वटा नयाँ विद्युतीय बस सञ्चालनमा ल्याएको छ।
बुधबारदेखि सञ्चालनमा आएका यी बसहरू ३३ सिट क्षमताका छन् भने उभिएर यात्रा गर्ने यात्रुसहित करिब ७० जनासम्मले एकैपटक यात्रा गर्न सक्नेछन्।
शशिला मोटर्स प्रा.लि.द्वारा चीनबाट आयात गरिएका बसहरूमा १४४ किलोवाट क्षमताको ऋब्त्ी ब्याट्री जडान गरिएको छ।
एक पटक पूर्ण चार्ज गर्दा करिब २०० किलोमिटरसम्म यात्रा गर्न सक्ने यी बसहरूको बजार मूल्य प्रतिगाडी १ करोड ३१ लाख ९० हजार रुपैयाँ रहेको छ।
महानगर यातायातले गत वर्ष पनि १२ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो।
नयाँ बसहरूको शुभारम्भ कार्यक्रममा कम्पनीका सचिव केशव नेपालले विद्युतीय सवारी भविष्यको आवश्यकता भएको उल्लेख गर्दै सेवा थप विस्तार गर्ने योजना रहेको बताए।
उनले प्रारम्भिक लगानी बढी भएपनि विद्युतीय बस व्यवसायिक रूपमा लाभदायक रहेको बताए।
विद्युतीय बसहरूले राम्रो प्रतिफल दिएको र डिजेल बसको तुलनामा सञ्चालन खर्च कम भएकाले आम्दानी पनि उल्लेखनीय रहेको कम्पनीले जनाएको छ ।
महानगर यातायातले हाल चन्द्रागिरि, थानकोट हुँदै बनेपा र धुलिखेलसम्म सेवा सञ्चालन गर्दै आएको छ।

