काठमाण्डौ । बहालवाला तथा निवृत्त उच्चपदस्थ निजामती कर्मचारीहरूको सम्पत्ति छानबिन प्रक्रिया तीव्र बनेसँगै आवश्यक कागजात लिन राष्ट्रिय किताबखाना (निजामती) पुग्ने सेवाग्राहीको भीड बढेसँगै किताबखानाले आफ्ना सेवा पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउन थालेको छ।
राष्ट्रिय किताबखानाले ‘डिजिटल डकुमेन्ट एक्सेस सर्भिस’ सञ्चालनमा ल्याउँदै कर्मचारीहरूको तलबी आम्दानीसम्बन्धी विवरण अनलाइनमार्फत उपलब्ध गराउन थालेको जनाएको छ। यससँगै सेवाग्राहीले सामान्य विवरणका लागि कार्यालय पुग्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ।
अब कर्मचारीहरूले आफ्नो नाम, पद र संकेत नम्बर उपलब्ध गराएर ह्वाट्सएप वा इमेलमार्फत आवश्यक विवरण प्राप्त गर्न सक्नेछन्। विभागले यसलाई सेवा प्रवाहलाई सरल, छरितो र झन्झटमुक्त बनाउने कदमका रूपमा लिएको जनाएको छ।
किताबखानाको वेबसाइटमा २०१७ सालदेखि हालसम्मका पद, तलब स्केल र ग्रेडसम्बन्धी विवरण समेत राखिएको छ। साथै ‘तलब र ग्रेड सिट’ तथा गणना क्याल्कुलेटर उपलब्ध गराइएकाले कर्मचारीहरूले आवश्यक परे आफ्नो आम्दानी विवरण आफैं गणना गर्न सक्ने व्यवस्था गरिएको छ।
सम्पत्ति छानबिनका लागि आवश्यक कागजात संकलन गर्ने क्रममा बढ्दो भीडलाई डिजिटल प्रणालीमार्फत व्यवस्थापन गर्ने प्रयासस्वरूप यो सेवा विस्तार गरिएको विभागको भनाइ छ। विभागले प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै कर्मचारीहरूलाई अनावश्यक रूपमा कार्यालय नआउन आग्रह गरेको छ।

