काठमाण्डौं । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रदेश प्रमुख यज्ञराज जोशी अस्वस्थ भएपछि बाँकी दस्तावेज मुख्यमन्त्री यामलाल कंडेलले वाचन गरेका छन्।
बुधबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्न रोस्ट्रममा उभिएका प्रदेश प्रमुख जोशीले प्रारम्भिक भाग वाचन गरेपछि स्वास्थ्यमा असहजता महसुस भएको बताएका थिए।
त्यसपछि उनले लामो दस्तावेज निरन्तर पढ्न कठिन भएको उल्लेख गर्दै बाँकी कार्यक्रम मुख्यमन्त्रीमार्फत प्रस्तुत गर्न आग्रह गरेका हुन्।
प्रदेश प्रमुखले सभामा सम्बोधन गर्दै स्वास्थ्य अवस्थाका कारण थप वाचन गर्न नसक्ने जानकारी दिएपछि सभामुख नन्दा गुरुङले मुख्यमन्त्री कंडेललाई बाँकी नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति प्रदान गरेकी थिइन्।
त्यसपछि मुख्यमन्त्री कंडेलले रोस्ट्रमबाट सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको बाँकी अंश सभामा वाचन गरेका थिए।
घटनाले केहीबेर बैठकको माहोल प्रभावित भए पनि कार्यसूची भने नियमित रूपमा अघि बढेको थियो।
कर्णाली प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रममार्फत आर्थिक विकास, पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको अपेक्षा गरिएको छ।
प्रदेश प्रमुखको स्वास्थ्यमा आएको असहजताका कारण नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जिम्मेवारी मुख्यमन्त्रीले सम्हालेको यो घटना प्रदेश सभामा असामान्य रूपमा हेरिएको छ।

