काठमाण्डौँ । राष्ट्रिय गौरवका ऊर्जा आयोजनामध्ये एक मानिएको तनहूँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।
तनहको ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाअन्तर्गत १४० मिटर अग्लो मुख्य बाँधको निर्माण हाल ५० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।
बाँध निर्माणका लागि आवश्यक कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म ४ लाख २४ हजार १२० घनमिटर कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ।
बाँध निर्माण तीव्र गतिमा अघि बढिरहेको र आगामी चरणका संरचनागत कामहरू पनि निर्धारित कार्यतालिकाअनुसार सञ्चालन भइरहेको आयोजनाले जनाएको छ ।
मुख्य बाँध तनहूँ जलविद्युत् आयोजनाको केन्द्रबिन्दू मानिन्छ।
१४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि जलाशय व्यवस्थापन, विद्युत् उत्पादन र ऊर्जा आपूर्तिमा दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको छ।
आयोजनालाई नेपालको ऊर्जा सुरक्षासँग जोडिएको रणनीतिक पूर्वाधारका रूपमा हेरिएको छ।
प्याकेज–१ अन्तर्गत बाँध, सुरुङ, नदी पथान्तरण तथा अन्य संरचनाको निर्माण जिम्मेवारी सोङ्दा कालिका जेभीले सम्हालिरहेको छ।
आयोजनाका अनुसार यस प्याकेजको समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ।
मुख्य बाँध निर्माणको तयारीस्वरूप आवश्यक पर्ने धेरैजसो पूर्वाधार निर्माण सम्पन्न भइसकेका छन्।
बाँध क्षेत्रका सुरुङहरू तयार भएका छन् भने सेती नदीको बहावलाई सफलतापूर्वक पथान्तरण गरिएको छ।
यसका लागि बाँधको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा निर्माण गरिएका अस्थायी बाँध (कफर ड्याम) पनि सञ्चालनमा आइसकेका छन्।
आयोजनाका प्राविधिकहरूका अनुसार नदी पथान्तरण सम्पन्न भएसँगै मुख्य बाँध निर्माणको काम थप सहज भएको छ।
अब बाँधको बाँकी उचाइ निर्माण, संरचनागत मजबुतीकरण तथा आवश्यक उपकरण जडानका कामलाई प्राथमिकता दिइनेछ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार तनहूँ जलविद्युत् आयोजना सम्पन्न भएपछि राष्ट्रिय प्रसारण प्रणालीमा उल्लेखनीय विद्युत् थपिनेछ।
यसले बढ्दो आन्तरिक विद्युत् माग व्यवस्थापन गर्न सहयोग पुग्नुका साथै ऊर्जा निर्यातको सम्भावना विस्तार गर्न पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ।
आयोजना समयमै सम्पन्न भएमा नेपालको जलविद्युत् विकास अभियानमा अर्को महत्वपूर्ण उपलब्धि थपिने विश्वास गरिएको छ।

