काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवाद चुलिँदै जाँदा ठूलो समूहले पार्टी परित्यागको घोषणा गरेको छ।
पार्टीका महामन्त्री डा.धवलशमशेर राणासहित १८३ जना नेता–कार्यकर्ताले संयुक्त रूपमा राप्रपा छोडेको घोषणा गरेका हुन्।
यसअघि नै डा.राणाले छुट्टै विज्ञप्ति जारी गर्दै आफू राप्रपामा नरहेको जानकारी गराएका थिए।
त्यसपछि आज शीर्ष तहका नेताहरूको सहभागितामा सामूहिक विज्ञप्ति जारी गर्दै थप नेताहरूले पनि पार्टी परित्यागको औपचारिक घोषणा गरेका हुन्।
पार्टी छाड्ने नेताहरूमा मुकुन्दश्याम गिरि, दिलनाथ गिरी, केशवराज श्रेष्ठ, नारायण प्रसाद कोइराला लगायतका केन्द्रीय तथा प्रदेशस्तरीय नेताहरू रहेका छन्।
त्यस्तै पदाधिकारी, कार्यसम्पादन समिति सदस्य, केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका प्रतिनिधिहरू समेत समूहगत रूपमा बाहिरिएका छन्।
परित्याग गर्ने पक्षले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै संगठनभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको आरोप लगाएको छ।
उनीहरूले राजसंस्थाको एजेन्डा ओझेलमा पारिएको तथा पार्टीको मूल राजनीतिक दिशानिर्देशन नै परिवर्तन भएको दाबी गरेका छन्।
पछिल्लो समय राप्रपाभित्र नेतृत्व, नीति र संगठनात्मक संरचनालाई लिएर असन्तुष्टि बढ्दै गएको थियो।
त्यसैको परिणामस्वरूप ठूलो संख्यामा नेता–कार्यकर्ताले सामूहिक रूपमा पार्टी छोड्ने निर्णय लिएको बताइएको छ।
यस घटनाले राप्रपाको संगठनात्मक शक्ति र आन्तरिक एकतामा थप चुनौती उत्पन्न भएको विश्लेषण गरिएको छ।

