काठमाण्डौ । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा वार्षिक लक्ष्यको ६८.२ प्रतिशत राजस्व उठाएको छ। कार्यालयका अनुसार चालु आवका लागि रु २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरिएकामा वैशाख मसान्तसम्म रु १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार राजस्व असुली भएको छ।
वार्षिक लक्ष्य पूरा गर्न बाँकी रहेका दुई महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने भएकाले कार्यालयलाई चुनौतीपूर्ण देखिएको छ ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवमा हालसम्म कुनै पनि महिनामा निर्धारित लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन। यद्यपि पछिल्ला दुई महिना चैत र वैशाखमा राजस्व संकलनमा सुधार देखिएको छ। साउनदेखि माघसम्म क्रमशः लक्ष्यको ७४.१४, ६९.७७, ८७.८३, ७२.३०, ८३.४५, ८३.२८ र ८८.२४ प्रतिशत राजस्व सङ्कलन भएको थियो। फागुनमा ८८.३२ प्रतिशत, चैतमा ९८.३७ प्रतिशत र वैशाखमा ८५.३८ प्रतिशत राजस्व असुली भएको कार्यालयले जनाएको छ।
नेपाल–भारत सीमास्थित जमुनाहा नाकामा एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात गतिविधि बढ्ने र त्यसबाट भन्सार राजस्वमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिए पनि पछिल्ला केही वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको छैन।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सार कार्यालयले वार्षिक लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो। त्यस्तै आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यको ६३.३५ प्रतिशत मात्र राजस्व संकलन भएको थियो।

