काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अध्ययन बिदा वा असाधारण बिदा लिएर सम्पर्कविहीन रहेका तथा सेवा अभिलेख अद्यावधिक नभएका निजामती कर्मचारीलाई तीन दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।
मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै बिदा अवधि सकिएपछि पनि सेवामा नफर्किएका कर्मचारी तथा राष्ट्रिय किताबखाना (निजामती) मा विवरण अद्यावधिक नभएका कर्मचारीलाई तत्काल आफ्नो स्थिति स्पष्ट पार्न आग्रह गरेको हो।
निर्धारित समयसीमाभित्र हाजिर नभए वा अभिलेख अद्यावधिक नगरे कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने मन्त्रालयले चेतावनी दिएको छ।
त्यसैगरी, संघीय सरकारअन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा केन्द्रीय कार्यालयहरूलाई आफ्ना निकायमा अध्ययन बिदा वा असाधारण बिदामा रहेका कर्मचारीहरूको वास्तविक अवस्था यकिन गर्न निर्देशन दिइएको छ।
मन्त्रालयले बिदा समाप्त भइसकेपछि कर्मचारी सेवामा फर्किएको वा नफर्किएको विवरण राष्ट्रिय किताबखाना (निजामती) सँग समन्वय गरी अद्यावधिक गर्न पनि सबै निकायलाई आग्रह गरेको छ।
सरकारले प्रशासनिक प्रणालीमा देखिएको अभिलेखीय असंगति हटाउन तथा सम्पर्कविहीन कर्मचारीको अवस्था स्पष्ट पार्दै सेवा व्यवस्थापनलाई प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ।

