काठमाण्डौ । वैदेशिक रोजगारीको नाममा अमेरिका र क्रोएसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना काठमाडौँबाट पक्राउ परेका छन्।
पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुमकुमारी श्रेष्ठ र मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका छन्।
काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीका अनुसार रुकुमकुमारी श्रेष्ठले अमेरिका पठाइदिने भन्दै एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लिएको आरोप छ भने शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै ३ लाख ५० हजार रुपैयाँ लिएको खुलेको छ।
रकम लिएपछि विदेश नपठाई लामो समयदेखि सम्पर्कविहीन भएको भन्दै पीडितले उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

