काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली चलचित्र उद्योगलाई मनोरञ्जनको माध्यममा मात्र सीमित नराखी राष्ट्रिय अर्थतन्त्रको विकासमा थप योगदान गर्न सक्ने क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताएका छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय तथा विशेष चलचित्र पुरस्कार एवं दीर्घ साधना सम्मान कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली चलचित्रले देशका गाउँबस्ती, पाखापखेरा तथा दुर्गम क्षेत्रका मौलिक कथा र जीवनशैलीलाई सशक्त ढङ्गले प्रस्तुत गर्न सके अन्तर्राष्ट्रिय चलचित्र महोत्सव तथा विश्व बजारमा नेपालको विशिष्ट पहिचान स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले चलचित्रकर्मीलाई प्रविधिसँग अद्यावधिक रहँदै अध्ययन, अनुसन्धान र सिर्जनात्मकतालाई निरन्तर प्राथमिकता दिन आग्रह गरे। चलचित्र केवल मनोरञ्जनको साधन नभई नागरिकमा चेतना, जागरण, सामाजिक रूपान्तरण र राष्ट्रप्रेमको भावना अभिवृद्धि गर्ने प्रभावकारी माध्यम भएको उनको भनाइ थियो।
राष्ट्रपति पौडेलले हिमाल, पहाड र तराईको प्राकृतिक सौन्दर्य तथा सामाजिक जीवनलाई चलचित्रमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न सकिने उल्लेख गर्दै चलचित्र क्षेत्रलाई साझा राष्ट्रिय पहिचान निर्माणको आधारका रूपमा लिनुपर्ने धारणा राखे।
उनले बदलिँदो समयअनुसार नीति, कानुन, सुविधा र सहुलियतको व्यवस्था गर्दै चलचित्र उद्योगमा संस्थागत सुधार आवश्यक रहेको बताए। साथै, कलाकार मात्र नभई चलचित्र उद्योगसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा आबद्ध सबै सरोकारवालाको योगदानको सम्मान हुनुपर्ने र यस क्षेत्रमा सम्मानजनक तथा सुरक्षित भविष्यको अनुभूति गराउन सक्नुपर्नेमा जोड दिए।
प्रविधिको तीव्र विकासले चलचित्र निर्माणदेखि वितरणसम्मका प्रक्रियामा सहजता ल्याएको उल्लेख गर्दै उनले डिजिटल प्रविधिको प्रयोगसँगै मौलिक कथा, सांस्कृतिक पहिचान, मानवीय सिर्जनशीलता तथा सर्जकको बौद्धिक सम्पत्ति अधिकारको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए।
राष्ट्रपति पौडेलले चलचित्रमा महिला, बालबालिका, दलित, आदिवासी जनजाति, मधेसी, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न भूगोल र समुदायका कथालाई सम्मानजनक, संवेदनशील र यथार्थपरक ढङ्गले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए। ‘जब हरेक नेपालीले आफ्नो कथा पर्दामा देख्न पाउँछ, तब चलचित्र साँच्चिकै राष्ट्रिय बन्छ,’ उनले भने ।
कार्यक्रमका अवसरमा दीर्घ साधना सम्मानबाट वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो।

