काठमाण्डौ । नेकपा नेता वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपाबीच परिवर्तन, सुशासन तथा समाज रूपान्तरणका एजेन्डामा उल्लेखनीय समानता रहेको बताएका छन्।
स्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले फरक राजनीतिक पृष्ठभूमिबाट आएका भएपनि दुवै शक्तिले स्थापित राजनीतिक अभ्यासलाई चुनौती दिँदै वैकल्पिक राजनीतिक धार निर्माण गर्ने प्रयास गरेको बताए।
महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै पुनले नेपाली राजनीतिमा नयाँ सोच र नयाँ अभ्यासको आवश्यकता महसुस गरेर दुवै दलले आफ्नो राजनीतिक यात्रा तय गरेको उल्लेख गरे।
उनले रास्वपा र नेकपाले फरक ऐतिहासिक पृष्ठभूमि बोके पनि परिवर्तन र सुधारका विषयमा समान उद्देश्य राखेको बताए।
उनका अनुसार नेपाली समाजमा देखिएका असमानता, विकृति, भ्रष्टाचार र कमजोर शासकीय अभ्यासलाई अन्त्य गर्दै जनमुखी शासन प्रणाली स्थापना गर्ने लक्ष्यमा दुवै दलको सोच नजिक रहेको छ।
यही कारणले परिवर्तनका एजेन्डामा सहकार्य र संवादको सम्भावना पनि बलियो रहेको उनको भनाइ थियो।
पुनले विशेषगरी सुशासनको सवालमा नेकपा र रास्वपाबीच उल्लेखनीय सहकार्य भएको स्मरण गरे।
राज्य संयन्त्रमा पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचारविरुद्धको अभियानमा दुई दलले विभिन्न अवसरमा साझा धारणा प्रस्तुत गरेको उनको दाबी थियो।
महाधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै पुनले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र जनउत्तरदायी शासन प्रणाली निर्माणमा सबै परिवर्तनकारी शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

