काठमाण्डौ । काठमाडौंको माइतीघरमा दृष्टिविहीन व्यक्तिहरूले सडकपेटीबाट हटाउने नगर प्रहरीको कदमको विरोधमा धर्ना दिएका छन्।
वैकल्पिक व्यवस्था बिना हटाइँदा आफ्नो जीविकोपार्जन प्रभावित भएको भन्दै उनीहरूले आन्दोलन शुरु गरेका हुन्।
आन्दोलनरत समूहका अनुसार धुप, तराजु राखेर वा सडकमा गीत–संगीत प्रस्तुत गर्दै जीविका चलाइरहेका व्यक्तिहरूलाई नगर प्रहरीले नियन्त्रणमा लिने, होल्डिङ सेन्टरमा राख्ने र पछि छोड्ने गरेको आरोप छ।
दृष्टिविहीन व्यवसायी समूहका संयोजक सुदीप ओलीले नगर प्रहरीले रोजगारीको विकल्प नदिई सडकबाट हटाउने कार्य गरेको भन्दै आपत्ति जनाएका छन्।
उनले महिलामाथिसमेत दुव्र्यवहार भएको आरोप लगाएका छन्।
आन्दोलनकारीहरूले राज्यले सडकमा व्यवसाय गर्न अनुमति दिनुपर्ने, बेरोजगारी भत्ता मासिक २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने वा योग्यता अनुसार रोजगारी सुनिश्चित गर्नुपर्ने माग अघि सारेका छन्।
उनीहरूले धर्ना जारी राख्ने र माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

