काठमाण्डौ । कैलालीमा निर्धारित क्षमताभन्दा बढी सामान बोकेर सञ्चालन हुने मालबाहक ट्रकमाथि निगरानी र कारबाही तीव्र पारिएको छ। ओभरलोडका कारण सडक तथा पुलमा क्षति पुग्नुका साथै दुर्घटनाको जोखिम बढेपछि ट्राफिक प्रहरी र ट्रक व्यवसायीहरू सक्रिय बनेका हुन्।
केही दिनअघि भैरहवाबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका लागि रासायनिक मल बोकेर आएका दुई ट्रकले स्वीकृत भार क्षमताभन्दा १०–१० टन बढी सामान ल्याएको भेटिएको थियो।
मधेश प्रदेश ०३–००२ ख ५३७६ र ५३७७ नम्बरका ती ट्रकसँग आवश्यक रुट परमिट र जाँचपाससमेत नभएको खुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले कारबाहीका लागि यातायात व्यवस्था कार्यालयलाई सिफारिस गरेको थियो।
ट्राफिक प्रहरीको सिफारिसका आधारमा दुवै ट्रकलाई पाँच–पाँच हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जानकारी दिए।
ती ट्रकलाई सेती–महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीहरूको सक्रियतामा कृषि सामग्री कम्पनीको कार्यालयबाट नियन्त्रणमा लिइएको थियो।
शनिबार पनि दाङबाट क्षमताभन्दा बढी सिमेन्ट बोकेर धनगढीतर्फ आइरहेको भे १ ख ४५५० नम्बरको ट्रकलाई नियन्त्रणमा लिइएको छ। ट्रकमा रहेको बढी सामान अनलोड गराएर आवश्यक कारबाही गरिएको प्रहरीले जनाएको छ।
सेती–महाकाली ट्रक व्यवसायी संघका अनुसार विगतमा ट्राफिक प्रहरी र व्यवसायी प्रतिनिधिको सहभागितामा संयुक्त चेकजाँच हुने गरेको थियो। पछिल्लो समय संयुक्त चेकजाँच रोकिएपछि ओभरलोड बोक्ने प्रवृत्ति पुनः बढेको व्यवसायीहरूको गुनासो छ।
प्रहरी निरीक्षक आचार्यले ओभरलोड ट्रकमाथिको निगरानी थप प्रभावकारी बनाउँदै कारबाहीको दायरा फराकिलो पारिने बताए।
ओभरलोडका कारण सवारीसाधन नियन्त्रण गर्न कठिन हुने, ब्रेक प्रणालीमा दबाब पर्ने र दुर्घटनाको जोखिम बढ्ने गर्छ। यस्ता सवारीले सडक तथा पुलको संरचनामा समेत दीर्घकालीन क्षति पुर्याउने भएकाले नियमित चेकजाँच र कडा कारबाही आवश्यक देखिएको छ।

