काठमाण्डौ । न्यायपरिषद्ले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्त गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
बिहीबार बसेको परिषद् बैठकले विशेष अदालतसहित राजस्व न्यायाधीकरण र श्रम अदालतको नेतृत्व परिवर्तन गर्न सिफारिस तथा परामर्श दिएको हो। हाल विशेष अदालतको अध्यक्षमा न्यायाधीश सुदर्शनदेव भट्ट कार्यरत छन्।
परिषद्ले उच्च तथा जिल्ला अदालतका न्यायाधीशहरूको व्यापक सरुवासमेत गरेको छ। बैठकले राजस्व न्यायाधीकरण काठमाडौंको कानुन सदस्य तथा अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज चन्दलाई तोक्न सरकारलाई परामर्श दिएको छ।
त्यसैगरी, उच्च अदालत पोखराकी न्यायाधीश अन्जु उप्रेती ढकाललाई राजस्व न्यायाधीकरण पोखरा र उच्च अदालत विराटनगरका न्यायाधीश दीपेन्द्रबहादुर बमलाई राजस्व न्यायाधीकरण विराटनगरको अध्यक्षमा तोक्न परिषद्ले सरकारलाई परामर्श दिएको छ।
श्रम अदालतको अध्यक्षमा भने उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारीलाई नियुक्त गर्न सिफारिस गरिएको न्यायपरिषद्ले जनाएको छ।

