बुधबार, श्रावण १३,२०८३ 03:29:08
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 03:29:08
Bizshala
Global IME Bank Limited

माइतीघरको डुबान रोक्न ‘बोटलनेक’ हटाइँदै, ढल निकास फराकिलो बनाउने काम सुरु

माइतीघरको डुबान रोक्न ‘बोटलनेक’ हटाइँदै, ढल निकास फराकिलो बनाउने काम सुरु
New Office

 

काठमाण्डौ । सामान्य वर्षामै जलमग्न हुने माइतीघर क्षेत्रको पुरानो डुबान समस्या समाधान गर्न काठमाडौँ महानगरपालिकाले ढल निकास खोल्ने र फराकिलो बनाउने काम सुरु गरेको छ।

महानगरले माइतीघरबाट नेपाली सेनाको मुख्यालयतर्फ जाने सडकछेउको नाला डोजर प्रयोग गरी खोलिरहेको छ। वर्षाको पानी सहज रूपमा निकास हुन नसक्ने स्थान पहिचान गरी अवरोध हटाउने र ढलको बहाव क्षमता बढाउने काम अघि बढाइएको हो।

माइतीघर क्षेत्रमा बर्सेनि दोहोरिने डुबानको कारण पत्ता लगाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयोजकत्वमा गठित संयुक्त प्राविधिक टोलीले साउन ६ गते स्थलगत निरीक्षण गरेको थियो।

 

टोलीको अध्ययनले माइतीघरको डुबान कुनै एक कारणबाट नभई प्राविधिक कमजोरी, अव्यवस्थित सहरीकरण र प्राकृतिक पानी सञ्चय हुने क्षेत्र अतिक्रमणको संयुक्त परिणाम भएको निष्कर्ष निकालेको थियो।

विगतमा माइतीघर चोकसँग जोडिएको होचो र खाली जमिनले प्राकृतिक जलाशयको काम गर्थ्यो। थापाथली हाइट, सिंहदरबार र बबरमहललगायत अग्ला क्षेत्रबाट बगेर आउने वर्षाको पानी उक्त क्षेत्रमा जम्मा हुन्थ्यो। त्यसले पानीको बहाव केही समय रोकेर जमिनमा सोसिन मद्दत गर्थ्यो।

तर सोही स्थानमा जिल्ला प्रहरी परिसर काठमाडौँ र जिल्ला सरकारी वकिल कार्यालयका बहुतले भवन निर्माण भएपछि प्राकृतिक रूपमा पानी जम्मा हुने ठाउँ हराएको अध्ययनको निष्कर्ष छ। जमिन कङ्क्रिटले ढाकिएपछि पानी सोस्ने क्षमता घट्यो र वर्षाको पानी सिधै माइतीघर चोकमा थुप्रिन थाल्यो।

डुबानको अर्को प्रमुख कारण ढलको असन्तुलित संरचना रहेको पाइएको छ। माइतीघरको मुख्य ढलको सुरु र अन्तिम भागको व्यास ९०० मिलिमिटर भए पनि बीचको केही भागमा घटेर ६०० मिलिमिटर मात्रै छ।

ठूलो पाइपबाट आएको पानी बीच भागमा साँघुरो संरचनामा प्रवेश गर्दा ‘बोटलनेक’ सिर्जना हुने र पानी बाहिर निस्कन नसकी सडकमा जम्ने गरेको प्रतिवेदनले औँल्याएको थियो।

सोही अध्ययनको निष्कर्षका आधारमा महानगरले साँघुरो निकास खोल्ने, अवरोध हटाउने र पानीको बहाव सहज बनाउने काम तीव्र पारेको छ। महानगरले अहिले थालेको काम प्रभावकारी भए माइतीघर क्षेत्रमा वर्षौंदेखि दोहोरिँदै आएको डुबानको समस्या केही हदसम्म अन्त्य हुने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.