बुधबार, श्रावण १३,२०८३ 05:12:09
Bizshala
  • बुधबार, श्रावण १३,२०८३ 05:12:09
Bizshala
Global IME Bank Limited

कर्णालीमा शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्रालय भागबन्डा नमिल्दा एक्लै सम्हाले सत्ता

एमालेसहित २३ सांसदको समर्थनमा बने मुख्यमन्त्री, सरकारको सुरुवातमै मन्त्रिपरिषद् विस्तारमा सकस

कर्णालीमा शाहीले लिए मुख्यमन्त्रीको शपथ, मन्त्रालय भागबन्डा नमिल्दा एक्लै सम्हाले सत्ता
New Office

 

काठमाण्डौ । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख यज्ञराज जोशीले मुख्यमन्त्री शाहीलाई शपथ गराएका हुन्। यद्यपि सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबन्डा र मन्त्री बन्ने व्यक्तिको नाममा सहमति जुट्न नसक्दा शाहीले बुधबार मन्त्रिपरिषद् विस्तार गर्न सकेनन्।

यससँगै शाहीले मुख्यमन्त्रीका रूपमा एक्लै प्रदेश सरकारको नेतृत्व सम्हालेका छन्। सरकार गठन भइसके पनि मन्त्रिपरिषद्ले आकार लिन नसक्नुले नयाँ सत्ता समीकरणभित्र मन्त्रालयको बाँडफाँट सहज नरहेको देखाएको छ।

प्रदेश प्रमुख जोशीले मंगलबार नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। शाही कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री हुन्।

नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलका नेता शाहीले नेकपाका १४ र नेकपा एमालेका नौ गरी २३ प्रदेशसभा सदस्यको समर्थनमा सरकार गठनको दाबी पेस गरेका थिए। सरकार बनाउन २१ सांसदको समर्थन आवश्यक पर्ने कर्णालीमा शाहीसँग सामान्य बहुमतभन्दा दुई मत बढीको समर्थन छ।

एमालेबाट मुख्यमन्त्री बनेका यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि कर्णालीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो। त्यसपछि बनेको नयाँ सत्ता समीकरणअनुसार नेकपाले प्रदेश सरकारको नेतृत्व पाएको हो।

मुगु प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री भइसकेका छन्।

मुख्यमन्त्रीको शपथसँगै नयाँ सरकार औपचारिक रूपमा गठन भए पनि मन्त्रालयको संख्या, जिम्मेवारी र मन्त्रीका आकांक्षी व्यवस्थापन गर्नु शाहीका लागि पहिलो राजनीतिक चुनौती बनेको छ। भागबन्डामा चाँडै सहमति नजुटे नयाँ सरकारको प्रारम्भिक गति नै प्रभावित हुनसक्ने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.