बिहीबार, श्रावण १४,२०८३ 10:27:20
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 10:27:20
Bizshala
Global IME Bank Limited

अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रात्रिकालीन यातायात बन्द

अविरल वर्षापछि देशका विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा रात्रिकालीन यातायात बन्द
New Office

काठमाण्डौ। अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीले बिहीबार बिहान ७ः५० बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएको तथा केही सडकमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।

यस्तै, कान्तिलोकपथमा पनि बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। वर्षाका कारण इलाम नगरपालिका–९ स्थित मेची राजमार्ग हिलाम्मे बनेपछि उक्त सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गको जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, दोलखाको तामाकोशी गाउँपालिका–५ किर्नेटारस्थित लामासाँघु–रामेछाप सडक खण्डमा सामाकोशी खोलाले सडक कटान गरेपछि आवागमन ठप्प भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली नदीले पासाङ ल्हामु राजमार्ग कटान गरेपछि उक्त सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित कान्तिलोकपथमा सुक्खा पहिरो खसेपछि सवारी सञ्चालन रोकिएको छ भने जाजरकोट–डोल्पा सडकअन्तर्गत मूलपानी खोलाको बाढीले सडक कटान गरेपछि उक्त सडकमा पनि यातायात सेवा अवरुद्ध भएको छ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहने भएकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझ्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.