बिहीबार, श्रावण १४,२०८३ 06:53:27
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 06:53:27
Bizshala
Global IME Bank Limited

पश्चिम एसिया युद्धको मार नेपालीमाथि, कुवेतमा इरानी आक्रमणबाट एकको मृत्यु

पश्चिम एसिया युद्धको मार नेपालीमाथि, कुवेतमा इरानी आक्रमणबाट एकको मृत्यु
New Office

 

काठमाण्डौ ।  पश्चिम एसियामा चर्किरहेको युद्धको प्रत्यक्ष मार वैदेशिक रोजगारीमा रहेका नेपालीमाथि पनि परेको छ। उत्तरी कुवेतमा रहेको एक चिनियाँ कम्पनीको भवनमाथि बिहीबार बिहान भएको इरानी आक्रमणमा चालकका रूपमा कार्यरत एक नेपालीको मृत्यु भएको छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार आक्रमणमा परी मृत्यु हुने व्यक्ति नेपाली नागरिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मृतकको नाम, स्थायी ठेगाना र कार्यरत कम्पनीसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

घटनाको पूर्ण विवरण संकलन गर्न र मृतकको पहिचानसहित आवश्यक जानकारी पठाउन कुवेतस्थित नेपाली राजदूतावासलाई निर्देशन दिइएको प्रवक्ता क्षेत्रीले बताएका छन्।

कुवेतको रक्षा मन्त्रालयले उत्तरी क्षेत्रमा रहेको चिनियाँ कम्पनीको भवनमा इरानी आक्रमण हुँदा एक श्रमिकको मृत्यु भएको र भवनमा ठूलो भौतिक क्षति पुगेको पुष्टि गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले पनि कुवेती रक्षा मन्त्रालयलाई उद्धृत गर्दै आक्रमणमा एक श्रमिकको मृत्यु भएको जनाएका छन्।

कुवेती रक्षा मन्त्रालयका प्रवक्ता साउद अब्दुलअजिज अल–ओताइबीका अनुसार आक्रमणपछि सुरक्षा तथा आपत्कालीन निकायलाई तत्काल परिचालन गरिएको थियो। प्रभावित क्षेत्रलाई सुरक्षित बनाउँदै अन्य सरकारी निकायसँग समन्वय गरी उद्धार र क्षति मूल्यांकनको काम अघि बढाइएको छ।

कुवेती पक्षले मृतक श्रमिकको राष्ट्रियता औपचारिक वक्तव्यमा सार्वजनिक नगरे पनि नेपाल सरकारले मृतक नेपाली भएको जनाएको हो। मृतकको पहिचान पुष्टि भएपछि परिवारलाई जानकारी गराउने, शव नेपाल ल्याउने तथा रोजगारदाता कम्पनीसँग क्षतिपूर्ति र बीमासम्बन्धी प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

इरानले पछिल्लो समय कुवेत र जोर्डनसहित विभिन्न मुलुकमा मिसाइल तथा ड्रोन आक्रमण तीव्र बनाएको छ। बिहीबारकै आक्रमणमा जोर्डनले पाँचवटा इरानी क्षेप्यास्त्र रोकेको जनाएको छ भने अमेरिका–इरानबीचको प्रत्याक्रमणले पश्चिम एसियाको सुरक्षा अवस्था थप जटिल बनेको छ।

कुवेतमा ठूलो संख्यामा नेपाली श्रमिक कार्यरत रहेकाले पछिल्लो घटनाले उनीहरूको सुरक्षाबारे चिन्ता बढाएको छ। युद्ध प्रभावित तथा सम्भावित जोखिम क्षेत्रमा रहेका नेपालीसँग निरन्तर सम्पर्क, सुरक्षित स्थानमा स्थानान्तरण र आवश्यक परे उद्धारका लागि सरकारले प्रभावकारी संयन्त्र सक्रिय बनाउनुपर्ने देखिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.