काठमाण्डौ । भारतसँग जोडिएका सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले अब आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने भएको छ । सर्लाही जिल्ला सुरक्षा समितिले यस्तो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै छिमेकी मुलुकबाट नेपाल प्रवेश गर्ने प्रत्येक यात्रुको परिचय यकिन गरेपछि मात्र प्रवेश अनुमति दिने निर्णय गरेको हो। परिचय खुल्ने आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि मात्रै यात्रुलाई नेपाल प्रवेश गर्न दिइनेछ।
पूर्वी नेपालका केही जिल्लामा विकसित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन्।
छलफलमा जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र धार्मिक सहिष्णुता कायम राख्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरिएको छ। कुनै पनि असमझदारी वा विवादलाई संवाद र आपसी छलफलबाट समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिबाट टाढा रहन सबैसँग अपिल गरिएको प्रशासनले जनाएको छ।
बैठकले धार्मिक जुलुस, र्याली, सभा वा अन्य सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय पनि गरेको छ।
यसैबीच, जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न सबै नागरिकसँग सहयोगको आग्रह गरेको छ।

