काठमाण्डौ। विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को अन्तिम बिदाइ बेलायतको लन्डनमा गरिने भएको छ। परिवार बेलायतमा बसोबास गर्दै आएकाले धार्मिक परम्पराअनुसार अन्त्येष्टि उतै गर्ने निर्णय भएको हो।
गत साउन १४ गते पाकिस्तानको ब्रड पिक हिमाल आरोहणका क्रममा गएको भीषण हिमपहिरोमा परी निधन भएका पुर्जा १० सदस्यीय अन्तर्राष्ट्रिय आरोही टोलीको नेतृत्व गरिरहेका थिए। दुर्घटनापछि साउन १७ गते उहाँको शव पहिचान भए पनि प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका कारण बुधबार मात्रै उद्धार टोलीले शव बेसक्याम्पसम्म ल्याउन सफल भएको थियो।
बेलायतमा रहेका पुर्जाका दाजु कमलबहादुर पुर्जाका अनुसार अन्त्येष्टिपछि जन्मभूमि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना तथा बाल्यकाल बिताएको चितवनमा उनको सम्झनामा विभिन्न स्मृति कार्यक्रम सञ्चालन गरिनेछ।
पुर्जाको कम्पनी एलिट एक्सपिडिसनले जारी गरेको विज्ञप्तिअनुसार निर्मल पुर्जा, निमा शेर्पा, झोङ वाङ र किलु शेर्पाको शव अत्यन्त चुनौतीपूर्ण उद्धार अभियानपछि सुरक्षित रूपमा बेसक्याम्पमा ल्याइएको छ। शव शुक्रबार राति वा शनिबारसम्म लन्डन पुर्याइने अपेक्षा गरिएको छ। त्यसपछि बेलायतमा आवश्यक कानूनी प्रक्रिया पूरा गरी अन्तिम बिदाइ गरिनेछ।
उद्धार अभियानमा पाकिस्तान सरकार, पाकिस्तान आर्मी, ब्रिटिस हाइ कमिसन, गिल्गिट–बाल्टिस्तान सरकार, नेपाल दूतावास तथा अल्पाइन क्लब अफ पाकिस्तानले समन्वय र सहयोग गरेका थिए।
ब्रिटिस सेनाबाट आफ्नो अन्तर्राष्ट्रिय यात्रा सुरु गरेका पुर्जाले पर्वतारोहण क्षेत्रमा नेपाललाई विश्वमाझ विशेष पहिचान दिलाएका थिए। बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विशेषज्ञका रूपमा कार्यरत उनले सन् २०१७ मा ‘गोर्खा एक्सपिडिसन’ अन्तर्गत १३ जना ब्रिटिस गोर्खाको सगरमाथा आरोहणको नेतृत्व गरेका थिए ।
पुर्जाले अतिरिक्त अक्सिजन प्रयोग नगरी आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल सबैभन्दा छोटो समयमा आरोहण गर्ने विश्व कीर्तिमान कायम गरेका थिए। पाकिस्तानको केटु हिमालसहितका साहसिक उपलब्धिका कारण उहाँको नाममा १८ वटा गिनिज वर्ल्ड रेकर्ड दर्ता छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।