काठमाण्डौ । आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरीका १ हजार ८४८ कर्मचारी विभिन्न अनुशासनहीन तथा आचरणविपरीत गतिविधिमा संलग्न भएको आरोपमा कारबाहीमा परेका छन्।
प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार प्रहरी आचरणविपरीत काम गरेको, व्यावसायिक मर्यादा कायम नगरेको तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गरेको आधारमा उनीहरूमाथि विभागीय कारबाही गरिएको हो।
कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सम्मका कर्मचारी तथा अधिकृत रहेका छन्।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार सबैभन्दा धेरै प्रहरी जवान कारबाहीमा परेका छन्। एक वर्षको अवधिमा ८६६ प्रहरी जवानमाथि कारबाही भएको छ।
त्यस्तै, ३५६ प्रहरी सहायक हवल्दार, २६२ प्रहरी हवल्दार, १३९ प्रहरी सहायक निरीक्षक (असई), ६१ वरिष्ठ हवल्दार र ५२ प्रहरी नायब निरीक्षक (सई) कारबाहीमा परेका छन्।
यसैगरी ५३ कार्यालय सहयोगी, १७ वरिष्ठ सई तथा ३३ प्रहरी निरीक्षक (इन्स्पेक्टर) समेत कारबाहीको दायरामा परेका छन्।
उच्च अधिकृततर्फ ३ प्रहरी नायब उपरीक्षक (डीएसपी), ३ प्रहरी उपरीक्षक (एसपी), २ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र १ डीआईजीमाथि पनि कारबाही गरिएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ।
प्रहरी संगठनभित्र अनुशासन, व्यावसायिक आचरण र नियमावलीको पालना सुनिश्चित गर्न आचरणविपरीत गतिविधिमा संलग्न कर्मचारीमाथि विभागीय कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।