काठमाण्डौ । नेकपा (एमाले) का सांसदहरूले अब आफ्ना परिवारका सदस्यलाई स्वकीय सचिवका रूपमा नियुक्त गर्न नपाउने भएका छन्। एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले पारित गरेको स्वकीय सुविधा सम्बन्धी मापदण्ड तथा कार्यविधि ले स्वकीयमा परिवारबाहेकका योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने व्यवस्था गरेको हो।
यसअघि सांसदहरूले आफ्नै परिवारका सदस्यलाई स्वकीय राख्ने गरेको भन्दै सार्वजनिक रूपमा आलोचना हुँदै आएको थियो। नयाँ कार्यविधिले स्वकीय नियुक्तिमा पारदर्शिता र व्यावसायिकता कायम गर्ने उद्देश्य राखेको एमाले संसदीय दलले जनाएको छ।
कार्यविधिले स्वकीय कर्मचारीका लागि शैक्षिक योग्यता पनि निर्धारण गरेको छ। जसअनुसार अधिकृत तहका स्वकीय सचिवका लागि न्यूनतम स्नातक तह उत्तीर्ण हुनुपर्नेछ भने उपसचिव तहका स्वकीय सचिवका लागि स्नातकोत्तर तह उत्तीर्ण भएको हुनुपर्नेछ।
त्यस्तै, सूचना प्रविधिमा दक्षता, कानुनी मस्यौदा तयार गर्ने क्षमता, नीति तथा कार्यक्रमको अध्ययन, सरकारी प्रतिवेदन विश्लेषण गरी मुख्य विषय पहिचान गर्न सक्ने क्षमतालाई प्राथमिकतामा राखिएको छ।
एमालेले स्वकीय नियुक्तिका लागि आचारसम्बन्धी मापदण्डसमेत तय गरेको छ। कार्यविधिमा प्रचलित कानुनअनुसार नैतिक पतन देखिने फौजदारी वा दण्डनीय कसुरमा अदालतबाट सजाय पाएको व्यक्ति स्वकीय पदका लागि योग्य नहुने उल्लेख छ।
नयाँ व्यवस्थाअनुसार स्वकीय सचिवको मुख्य कार्यक्षेत्र संघीय राजधानी काठमाण्डौसँगै सम्बन्धित सांसदको निर्वाचन क्षेत्रसमेत रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।