शनिबार, श्रावण २३,२०८३ 08:53:20
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 08:53:20
Bizshala
Global IME Bank Limited

यातायात विभागले रोकिएका सबै लाइसेन्सको छपाइ सक्यो, एक वर्षभन्दा कम म्यादको छपाई स्थगित

यातायात विभागले रोकिएका सबै लाइसेन्सको छपाइ सक्यो, एक वर्षभन्दा कम म्यादको छपाई स्थगित
New Office

–रविन ठकुरी

 

काठमाण्डौ । यातायात व्यवस्था विभागले बाँकी रहेका सम्पूर्ण पुरानो सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को छपाईको काम पुरा गरेको छ । विभागसँग रहेको एक वर्षभन्दा कम म्यादका लाइसेन्सको छपाईको काम भने उसले रोकेर राखेको छ ।

ती लाइसेन्सका सेवाग्राहीलाई पुनः नविकरण गर्न लगाएर १० वर्ष म्याद भएको नयाँ लाइसेन्स दिने तयारीमा यातायात व्यवस्था विभाग लागिपरेको छ । छपाई भएर तयारी अवस्थामा पुगेका पुरानो सवारी चालक अनुमतिपत्रलाई वितरणमा पठाउने तयारी भइरहेको छ ।

एक वर्षभन्दा बढी म्यादका साढे २७ लाख लाइसेन्सको छपाई सकियो

यातायात व्यवस्था विभागसँग छपाईका लागि ३० लाख सवारी चालक अनुमतिपत्र बाँकी थियो । यस मध्ये एक वर्षभन्दा कम म्याद भएको २ लाख ५४ हजार लाइसेन्स विभागसँग अझै छ । छपाई गर्न बाँकी ती ३० लाख लाइसेन्स मध्ये विभागले १ वर्षभन्दा बढी म्याद भएका २७ लाख ४६ हजारको सम्पूर्ण छपाईको काम सम्पन्न गरेको छ ।

ती लाइसेन्सलाई वितरणमा पठाउने तयारीमा विभाग लागिपरेको छ । एक वर्षभन्दा कम म्याद भएको लाइसेन्सको छपाई प्रक्रिया हाल विभागले रोकेर राखेको छ ।

‘एक वर्षभन्दा कम म्याद भएका लाइसेन्सको छपाई तत्काललाई रोकेका छौं । ती लाइसेन्सलाई पुनः नविकरण गर्न लगाएर १० वर्षको म्याद भएको नयाँ दिने तयारी गरेको छौं ।’, नेपाल यातायात व्यवस्था विभागका निर्देशक केशव खतिवडाले भने ।

‘एक वर्षभन्दा कम म्याद भएको लाइसेन्सलाई नविकरण गर्दा यसको केहि समयमा पुनः नविकरण गर्न उनीहरु आउँदछन् । यसले राज्य र नागरिकलाई दोहोरो खर्चको मारमा पार्दछ । बरु हामीले उनीहरुलाई पुनः नविकरण गर्न लगाएका हौं ।’, उनले भने ।

‘वैदेशिक रोजगारी र वैदेशिक शिक्षाका लागि बाहिर जाने नागरिकका हकमा भने यो लागू हुँदैन । उनीहरुले चाहे हामीले छपाई गरेर दिइरहेका छौं ।’, उनले भने ।

२०८२ साउन १४ देखि नवीकरण हुने लाइसेन्सको म्याद १० वर्ष रहने

यातायात व्यवस्था विभागले २०८२ साल साउन १४ गतेदेखि नविकरणमा आएका लाइसेन्समा १० वर्षको म्याद राखेर नयाँ दिइरहेको छ । उक्त अवधिभन्दा अघि नविकरण भएको हकमा भने ५ वर्षको म्याद भएको लाइसेन्स नै विभागले दिइरहेको हो ।

अहिले विभागसँग छपाईका लागि बाँकी रहेका १ वर्षभन्दा कम म्याद भएका लाइससेन्सको हकमा पनि उही १० वर्ष म्याद लागू हुने छ । ती लाइसेन्सका सेवाग्राहीले नविकरणपछि १० वर्ष म्याद भएका नयाँ पाउने छन् ।

हाल विभागसँग भएका लाइसेन्सको छपाई प्रक्रिया विगतको तुलनामा छिटो भएको हो । विभागले आफुसँग भएका सबै लाइसेन्सको छपाई पनि छोटो अवधिमा सकेको हो । २०८२ कात्तिक १२ गतेदेखि विभागमा भएका लाइसेन्सको छपाई छिटो भएको हो ।

‘विभागमा भएका लाइसेन्स एक वर्षअघि देखि छिटो प्रिन्ट भयो । त्यो समयमा दैनिक ४० हजार लाइसेन्स प्रिन्ट हुन्थ्यो । अहिलेसम्म उही दरमा प्रिन्ट भइरहेको छ । यसले गर्दा विभागसँग भएका सम्पूर्ण लाइसेन्सका छपाई अहिले सकिएको हो ।’, उनले भने ।

प्रदेशमा लाइसेन्स छपाइ हस्तान्तरणपछि नविकरण सेवा प्रभावित

यही साउन १ गतेदेखि लाइसेन्स छपाई तथा वितरणको जिम्मेवारी संघिय सरकारबाट प्रदेश सरकारमा गइसकेको छ । नयाँ व्यवस्था कार्यान्वयनमा जाँदा केहि जटिलता पनि अघि आएका छन् । नयाँ प्रणालीमा जाने क्रममा लाइसेन्स नवीकरण सेवामा समेत समस्या देखिएको छ ।

सरकारी सर्भरमा आएको प्राविधिक समस्याले सेवा अवरुद्ध हुन पुगेको छ । यसले गर्दा सेवाग्राहीले समयमै लाइसेन्स नवीकरण गर्न पाएका छैनन् ।

‘मेरो हातमा भएको लाइसेन्सको म्याद अझै ९ महिना बाँकी छ । यो लाइसेन्समा क्याटेगोरी थप गरि रिन्यु गर्न खोजेको, ५ महिनाभन्दा बढी म्याद भएको लाइसेन्सको नहुने कुरा छ । क्याटेगोरी थप गरि मेरो लाइसेन्स किन रिन्यु हुँदैन रु’, यातायात व्यवस्था विभागमा आएका सेवाग्राही जयराम ढुङ्गानाले भने ।

‘उहाँहरु सिस्टममा समस्या आएको भन्नु हुन्छ । प्राविधिक समस्याले गर्दा अघि बढ्न नसकेको भनिरहनु भएको छ । वैदेशिक रोजगारीमा जान लाग्दा यस्तो हुँदा मलाई समस्या भएको छ ।’, उनले भने ।

विभागले पुरानो सफ्टवेयरलाई नयाँ प्रणालीमा अपग्रेड गर्ने क्रममा देशभरका लाइसेन्स कार्यालयमा यस्तो प्रकारको समस्या देखिएको छ । सेवाग्राहीको लिने सेवा प्रभावित बनिरहेको छ ।

लाइसेन्सको म्याद सकिएको ९० दिनभित्र नवीकरण गर्दा कुनै जरिबाना लाग्दैन । तर त्यसपछि अधिकतम ५ वर्षसम्म म्याद गुज्रिएको अवधिअनुसार १०० प्रतिशतदेखि ५०० प्रतिशतसम्म अतिरिक्त जरिबाना बुझाउनुपर्ने हुन्छ ।

पाँच वर्षको अवधि नाघेमा लाइसेन्स स्वतः खारेज हुन्छ । पुनः सम्पूर्ण प्रक्रिया पूरा गरेर नयाँ लाइसेन्स लिनुपर्ने कानुनी प्रावधान रहेको छ । यसरी सिस्टममा समस्या देखिँदा सेवाग्राहीले आर्थिक सास्ती पनि खेप्नुपर्ने हुनसक्दछ ।  

अधिकार प्रदेशमा, तर लाइसेन्स छपाइ अझै केन्द्रकै भर

यातायात सम्बन्धी प्रादेशिक नीति, कानून, मापदण्ड, योजना कार्यान्वयन र नियमन गर्ने, सवारी दर्ता र नविकरण, चालक अनुमति र नविकरण गर्ने, प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, गुणस्तर, भाडा दर निर्धारण र नियमन गर्ने लगायतको विषयको जिम्मेवारी र अधिकार प्रदेशमा छ ।

संघियतापछि सेवाग्राहीले आफ्नो प्रदेशबाट नै आवेदन, वायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा ट्रायल परीक्षा दिने व्यवस्था विस्तार भएको हो । यसले सेवाको पहुँच बढाएको छ । तर नीतिगत निर्णय, केन्द्रिय डाटाबेस, कार्ड छपाई लगायतका कामहरु अझै संघिय सरकारको नियन्त्रणमा छ । तर आधिकारिक रुपमा ती अधिकार प्रदेश सरकारमा गइसकेको छ ।

यातायात व्यवस्था विभागले गर्ने लाइसेन्स मुद्रणको अधिकार अन्यमा जाँदा लाइसेन्स छपाईमा सुस्तता आएको थियो । सुरक्षण मुद्रण ऐन अन्तर्गत काम गर्नुपर्दा पनि यो सुस्तताले निरन्तरता पाएको हो । मुलुक संघियतामा गएसँगै यातायात व्यवस्था विभागले गर्ने लाइसेन्स छपाईको अधिकार प्रदेशमा गएको हो ।

तर यो लाइसेन्स छपाई भने सुरक्षण मुद्रण ऐन, २०८१ अन्तर्गत गर्नुपर्ने हुन्छ । जतिपनि प्रदेशमा म्याद गुज्रेका लाइसेन्स छन्, ती सबैलाई सरकारी सुरक्षण मुद्रण केन्द्रमा गराउनुपर्ने हुन्छ । प्रदेशमा मुद्रण गराउनका लागि चाहिने मेशिन त्यहाँ छैनन् । प्रदेशमा लाइसेन्स छपाई नहुँदा लाइसेन्स म्याद सकिन लाग्दा समेत नागरिकको हातमा नपर्ने समस्या देखापरेको हो ।    

एउटा लाइसेन्स छाप्न २२० रुपैयाँ ५० पैसा खर्च

यातायात व्यवस्था विभागले एक वर्षभन्दा कम म्याद भएका लाइसेन्सलाई पुनः नविकरण गरि १० वर्ष म्याद भएका नयाँ लाइसेन्स दिन प्रस्ताव अघि सारेको छ । यस प्रस्तावले राज्य र सेवाग्राही दुबै लाभान्वित हुने देखिन्छ ।

सवारी चालक अनुमतिपत्रमा ५ वर्षको मात्रै म्याद हुनेगर्दछ । विभागले २०८२ साल साउन १४ गतेदेखि नविकरणमा आएका लाइसेन्समा १० वर्षको म्याद राखेर नयाँ दिइरहेको छ । सो अवधिमा नविकरण भएका लाइसेन्समा १० वर्षको म्याद हुनेछ ।

यसले सेवाग्राहीलाई ५–५ वर्षको अवधिमा हुने नविकरणको झन्झटबाट छुट्कारा दिएको छ । साथै राज्यलाई यस लाइसेन्सबाट हुने मुद्रणको चापबाट मुक्ति मिलेको छ । एक वर्षभन्दा कम म्याद भएका एउटै व्यक्तिको लाइसेन्सलाई छोटो अवधिमा पुनः छपाई गर्दा लाग्ने लागतबाट समेत छुट्कारा दिएको छ ।

‘हाल सेवाग्राहीलाई छपाई गरेर दिने एउटा नयाँ लाइसेन्सको लागत २२० रुपैयाँ ५० पैसा पर्दछ । सेवाग्राहीले यी लाइसेन्सको नविकरण गर्नका लागि न्युनतम १, ५०० दस्तुर तिर्ने गर्दछन् । यो दस्तुर मोटरसाइकलको हकमा हो । अन्यको हकमा यो भन्दा माथिको दस्तुर बुझाउनुपर्ने हुन्छ ।’, उनले भने ।

विभागको मुद्रण गर्ने लागतको तथ्यलाई आधारमान्दा २ लाख ५४ हजार लाइसेन्स छपाई गर्न भ्याटसहित ५ करोड ६० लाख रुपैयाँ राज्यको खर्च हुने अनुमान छ । तर यसरी १ वर्षभन्दा कम म्याद भएका लाइसेन्सको छपाई रोकिँदा राज्यलाई करोडौंको आर्थिक भार कम भएको छ । भ्याटबिना भने एउटा लाइसेन्स छपाई गर्न १९५ रुपैयाँ १७ पैसा पर्दछ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.