काठमाण्डौ । लगातारको वर्षा, पहिरो, सडक भासिने तथा कटानका कारण देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार आज बिहान ५ः४५ बजेसम्म तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमलगायत जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ।
प्रहरीका अनुसार तेह्रथुमको मध्यपहाडी लोकमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, इलामको मेची राजमार्ग, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक र रुकुम पश्चिमको भेरी करिडोर पहिरो तथा सडक क्षतिका कारण प्रभावित भएका छन्।
सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा रातिको समयमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
उक्त सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइनेछ।
त्यस्तै, मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण सडक हिलाम्मे भएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग भने उपलब्ध रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो, वडा नं. २ कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएपछि अरनिको राजमार्गका विभिन्न खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। जिरोकिलोमा पहिरो र लिपिङमा सडक भासिएपछि यातायात ठप्प भएको हो।
यसैगरी, चौतारा साँगाचोकगढी नगरपालिका–९ डुम्रेमा समेत अरनिको राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काडेस्थित पिङवाखोला नजिक पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम कायमै रहेकाले प्रहरीले सर्वसाधारणलाई यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।