काठमाण्डौ । आन्तरिक राजस्व कार्यालय झापाले गत आर्थिक वर्षमा लक्ष्यको करिब ८१ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ। कार्यालयले गत आर्थिक वर्षमा ६ अर्ब ६ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ संकलन गरेको हो।
कार्यालयले लक्ष्यको ८१.३१ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ। लक्ष्यअनुसार राजस्व संकलन हुन नसके पनि आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) राजस्वको प्रमुख स्रोत बनेका छन्।
कुल संकलित राजस्वमध्ये आयकरबाट २ अर्ब ४१ करोड ६१ लाख ७ हजार रुपैयाँ उठेको छ। त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट १ अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ तथा अन्तःशुल्कबाट ६७ करोड ८९ लाख ५ हजार रुपैयाँ संकलन भएको छ।
यसैगरी, भाडा आयकरबाट ५ करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज करबाट ९ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकबाट २ करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
आन्तरिक राजस्व कार्यालय झापाको कार्यक्षेत्रमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्। चार जिल्लाबाट संकलित राजस्वमा आयकरको हिस्सा सबैभन्दा ठूलो देखिएको छ।
कार्यालयको लक्ष्य र वास्तविक संकलनबीच करिब १ अर्ब १३ करोड ३९ लाख रुपैयाँको अन्तर देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।