काठमाण्डौ । किसानबाट संकलन भएको दूधको बजार सुनिश्चित गर्ने र उपभोक्तालाई स्वदेशी दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने रणनीतिअन्तर्गत दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्नो बिक्री सञ्जाल विस्तार गरेको छ। संस्थानले काठमाण्डौको वनस्थलीमा आठौँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको हो।
डीडीसीका अनुसार नयाँ बिक्री केन्द्र सञ्चालनसँगै उपभोक्ताले एउटै स्थानबाट संस्थानका विभिन्न दूध तथा दुग्धजन्य पदार्थ खरिद गर्न सक्नेछन्। बिक्री केन्द्र विस्तारलाई संस्थानले उत्पादन र उपभोगबीचको दूरी घटाउने तथा आफ्ना उत्पादनको बजार पहुँच बढाउने माध्यमका रूपमा अघि बढाएको छ।
बिक्री केन्द्र उद्घाटनका क्रममा डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेले किसानले उत्पादन गरेको दूधका लागि बजार सुनिश्चित गर्न संस्थानको बिक्री सञ्जाल विस्तार आवश्यक रहेको बताए।
उनका अनुसार बिक्री केन्द्र थपिँदा उपभोक्तालाई डीडीसीका उत्पादन सहज रूपमा उपलब्ध हुनुका साथै स्वदेशी दुग्धजन्य पदार्थको खपत बढाउन पनि सहयोग पुग्नेछ। उपभोक्ताको माग र बजारको आवश्यकतालाई आधार बनाएर आगामी दिनमा थप स्थानमा बिक्री केन्द्र विस्तार गर्ने संस्थानको योजना छ।
डीडीसीको पछिल्लो विस्तारलाई किसानको उत्पादनदेखि अन्तिम उपभोक्तासम्मको बजार शृङ्खला बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ। किसानबाट दूध संकलन गरेपछि त्यसको बिक्रीका लागि पर्याप्त बजार नहुँदा उत्पन्न हुन सक्ने समस्या कम गर्न संस्थानले आफ्नै बिक्री सञ्जाललाई विस्तार गर्दै लगेको जनाएको छ।
वनस्थलीमा नयाँ केन्द्र सञ्चालनमा आएपछि डीडीसीका बिक्री केन्द्रको सङ्ख्या आठ पुगेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।