काठमाण्डौ । वित्तीय दबाब र उच्च निष्क्रिय कर्जाको चुनौती खेपिरहेको राष्ट्रिय सहकारी बैंक लिमिटेडले पूँजी पर्याप्तता अनुपातमा उल्लेखनीय सुधार गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म आइपुग्दा बैंकको पूँजी पर्याप्तता अनुपात (सीएआर) ११.६६ प्रतिशत पुगेको छ।
अघिल्लो त्रैमाससम्म बैंकको पूँजी पर्याप्तता अनुपात ४.४२ प्रतिशतमा सीमित थियो। छोटो अवधिमै यो अनुपात दोब्बरभन्दा बढी सुधार गर्दै ११.६६ प्रतिशत पुर्याउनुलाई बैंकको वित्तीय स्थायित्व तथा जोखिम वहन क्षमतामा आएको महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।
नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पूँजी पर्याप्तता सीमाभन्दा माथि पुगेसँगै बैंकको पूँजीगत आधारसमेत बलियो बनेको देखिएको छ।
बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार करिब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष घाटामा रहेको बैंक चालु आर्थिक वर्षमा नाफामा फर्किएको हो।
बैंकको खुद ब्याज आम्दानी पनि ८७ करोड रुपैयाँभन्दा माथि पुगेको छ। सञ्चालन आम्दानी तथा सञ्चालन नाफामा समेत सकारात्मक सुधार देखिएको बैंकले जनाएको छ।
विगतदेखि बैंकको वित्तीय अवस्थालाई दबाबमा राख्दै आएको सञ्चित नोक्सानी पनि घटेको छ। चालु वर्षमा भएको नाफाले सञ्चित नोक्सानी कम गर्न सहयोग पुगे पनि त्यो पूर्ण रूपमा समाप्त भने भइसकेको छैन। आगामी अवधिमा नाफा बढाउँदै सञ्चित नोक्सानी थप घटाउनु बैंकका लागि अर्को महत्वपूर्ण चुनौती रहनेछ।
३२.२६ प्रतिशत एनपीएल अझै टाउको दुखाइ
पूँजी पर्याप्तता र नाफामा उल्लेखनीय सुधार देखिए पनि बैंकको सबैभन्दा ठूलो चुनौती भने अझै निष्क्रिय कर्जा (एनपीएल) नै छ।
चौथो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा अनुपात ३२.२६ प्रतिशत रहेको छ। बैंकिङ मापदण्डको दृष्टिले यो अत्यन्त उच्च स्तर हो।
यसले बैंकलाई आगामी दिनमा कर्जा असुलीलाई आक्रामक बनाउने, खराब कर्जा नियन्त्रण गर्ने, कर्जाको गुणस्तर सुधार गर्ने तथा जोखिम व्यवस्थापन प्रणाली थप बलियो बनाउन दबाब सिर्जना गरेको छ।
बैंकले खराब कर्जा नियन्त्रण, कर्जा असुली प्रभावकारी बनाउने, जोखिम व्यवस्थापन प्रणाली सुदृढ गर्ने तथा संस्थागत सुशासनलाई थप मजबुत बनाउने रणनीति लिएको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले नाफामा पुनरागमन, सञ्चित नोक्सानीमा आएको कमी र पूँजी पर्याप्तता अनुपात नियामकीय सीमाभन्दा माथि पुग्नुलाई संस्थागत सुधार यात्राको महत्वपूर्ण उपलब्धि बताएका छन्।
उनले आगामी दिनमा निष्क्रिय कर्जा घटाउने, पूँजीगत आधार अझ बलियो बनाउने तथा वित्तीय स्थायित्वलाई दिगो बनाउने कार्यलाई उच्च प्राथमिकता दिइने बताएका छन्।
समग्रमा पछिल्लो वित्तीय विवरणले राष्ट्रिय सहकारी बैंक दबाबपूर्ण अवस्थाबाट सुधारको बाटोतर्फ उन्मुख भएको संकेत गरेको छ। तर ३२ प्रतिशतभन्दा माथिको निष्क्रिय कर्जा नियन्त्रण नगरेसम्म अहिले देखिएको पूँजी र नाफाको सुधारलाई दिगो उपलब्धिमा रूपान्तरण गर्नु बैंकका लागि चुनौतीपूर्ण नै रहनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।