काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन् ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुुसार आवेदन दिने अन्तिम समयसम्म आठ जनाको आवेदन परेको हो ।
उनका अनुसार सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ ।
‘बिजनेश प्लानको मूल्यांकन सकिनासाथ ८ जनाबाट सर्टलिस्ट तयार गर्नेछौं’ उनले भने, ‘नेप्सेका लागि अब योग्य सीइओ नै छानिनेछ, सम्भवतः १०–१५ दिनभित्र सर्टलिस्ट तयार भइसक्नेछ ।’
सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुत गर्नुपर्नेछ । त्यसपछि उनीहरू अन्तर्वार्तामा सहभागी हुनेछन् । प्रस्तुतीकरण र अन्तर्वार्तासहितको छनोट प्रक्रिया पूरा भएपछि नेप्सेले नयाँ सीईओ पाउने लम्सालले जानकारी दिए ।
यसअघि सिफारिस समितिले सीईओ पदका लागि साउन १२ गतेदेखि २६ गतेसम्म आवेदन आह्वान गरेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।