काठमाण्डौ । खुद बीमाशुल्क आर्जन वृद्धिका बावजुत दाबी भुक्तानी बढ्दा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४६ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १५.०१ प्रतिशतले कम हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५४ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म ५३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४७ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिसम्म कम्पनीले ७४ अर्ब ३३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ६८ अर्ब ३० करोड रहेको थियो । कम्पनीको खर्च समेत बढेको छ । अघिल्लो आवमा ६४ अर्ब २६ करोड रहेको कम्पनीको कुल खर्च बढेर ७० अर्ब ७६ करोड पुगेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ६२ अर्ब ८४ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ९.५२ प्रतिशतले बढी हो ।
कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा ७९ करोड ९० लाख रुपैयाँ सञ्चित गरेको छ ।
यो अवधिसम्म कम्पनीले ११ लाख ७७ हजार ८०३ वटा बीमा पोलिसी जारी गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)४.९१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३ हजार ८१.१४ रुपैयाँ र पीई अनुपात १५२.७ गुणा कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।