काठमाण्डौ । माइक्रोफाइनान्स कम्पनीहरुको नाफामा उछाल आएको छ । गत आर्थिक वर्ष २०८२–८३ को अन्त्यसम्म माइक्रोफाइनान्स कम्पनीहरुले १२ अर्ब ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।
माइक्रोफाइनान्सहरुको यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १५१.०८ प्रतिशत बढी हो । अघिल्लो आवमा कम्पनीरुले ४ अर्ब ७८ करोड ६ लाख रुपैयाँ नाफा कमाएका थिए ।
गत आवमा सबै कम्पनी नाफामा उक्लिएका छन् । अघिल्लो आवमा भने १३ कम्पनी घाटामा थिए । एक वर्षमा उक्त कम्पनीहरुले नाफा कमाएर कमब्याक गरेका कारण पनि समग्र माइक्रोफाइनान्स कम्पनीहरुको नाफामा उछाल देखिएको हो ।
विशेषगरी गत आवमा माइक्रोफाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानीमा सुधारसँगै प्रोभिजनिङ रकम घट्दा नाफामा टेवा पुगेको हो । संस्थाहरुको ऋण असुलीसँगै प्रोभिजनिङ रकम घट्नु र घट्दो ब्याजदरका कारण कस्ट अफ फण्ड कम हुँदा कम्पनीहरुको ब्यालेन्स्ड सिट सुधारिएको हो ।
योसँगै पछिल्लो समय माइक्रोफाइनान्स कम्पनीहरुको ऋण असुली सुस्त दखिएपनि कर्जा नोक्सानीमा पहिले नै धेरै रकम छुट्याएका कारण नाफामा सुधार भएको विज्ञहरु बताउँछन् ।
गत आवमा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा छिमेक लघुवित्त रहेको छ । संस्थालो १ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ७.०२ प्रतिशत बढी हो ।
सबैभन्दा थोरै नाफा कमाउनेमा विन नेपाल लघुवित्त रहेको छ । यो संस्थाले भने जम्मा ८३ लाख ४२ हजार रुपैयाँ मात्रै नाफा कमाएको छ । वृद्धिदरमा आधारमा भने विजय लुघवित्तले १५ लाख ८ हजार प्रतिशतले नाफा वृद्धि गरेको छ ।
ब्याज आम्दानी १६.१०% ले वृद्धि
माइक्रोफाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानी गत आर्थिक वर्षमा १६.१० प्रतिशतले वृद्धि भएको छ ।
गत आवमा संस्थाहरुले कुल ३६ अर्ब ७९ करोड ८१ लाख रुपैयाँ ब्याज आम्दानी गरेका छन् । अघिल्लो आवमा भने संस्थाहरुको यस्तो आम्दानी ३१ अर्ब ६९ करोड ५५ लाख रुपैयाँ मात्रै थियो ।
अघिल्लो आवको तुलनामा गत आवमा ६ संस्थाको मात्रै यस्तो आम्दानी घटेको छ भने बाँकी सबैको उल्लेख्य बढेको छ ।
सबैभन्दा धेरै आम्दानी गर्नेमा छिमेक लघुवित्त रहेको छ । यो संस्थाले ३ अर्ब ८४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ ।
वृद्धिदरका आधारमा भने अभियान लघुवित्त अघि रहेको छ । संस्थाले यस्तो आम्दानी १५४.१४ प्रतिशतले बढाएको छ ।

अधिकांशको एनपीएलमा सुधार
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार अधिकांश माइक्रोफाइनान्स कम्पनीहरुले खराब कर्जा अनुपात (एनपीएल)को अवस्था सुधार गरेका छन् ।
अधिकांशको एनपीएलको अवस्था ५ प्रतिशतभन्दा माथि भएपनि अघिल्लो आर्थिक वर्षको तुलनामा धेरैजसो कम्पनीले खराब कर्जाको अवस्था घटाएका छन् । जसकारण लघुवित्त संस्थाहरुको ऋण असुली प्रभावित भई ब्याज आम्दानी बढेर नाफामा वृद्धि देखिएको हो ।
तर नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाको यस्तो अवस्था ५ प्रतिशत वा सो भन्दा बढी भए वित्तीय जोखिम बढ्दै जाने भएपनि गत आवमा ७ कम्पनीको मात्रै एनपीएल ५ प्रतिशत भन्दा कम देखिएको छ ।
लाभांश क्षमता कुनको कति ?
लघुवित्त संस्थाहरुको नाफामा उछाल देखिएसँगै वितरणयोग्य नाफाको अवस्थामा पनि छलाङ देखिएको छ ।
अधिकांश कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्नका लागि उल्लेख्य रकम छुट्याएका छन् ।
तर नेपाल राष्ट्र बैंकको व्यवस्थाबमोजिम माइक्रोफाइनान्स कम्पनीहरुले जतिनै लाभांश क्षमता देखाएपनि केन्द्रीय बैंकको सीमाभित्र रहेको मात्रै लाभांश बाँड्नुपर्ने हुन्छ ।
राष्ट्र बैंकको नियमअनुसार लघुवित्त संस्थाहरुले पूँजीकोष अनुपात, खराब कर्जा अनुपातको सीमा कायम गरेका संस्थाहरुले २५ प्रतिशतसम्म मात्रै लाभांश बाँड्न पाउनेछन् ।
विवरणअनुसार १९ माइक्रोफाइनान्सको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि छ । तर उक्त कम्पनीहरुले पूँजीकोष अनुपात र निष्क्रिय कर्जा अनुपातको सीमा कायम गरेमात्रै २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।