काठमाडौं । मोबाइलको कभर र सिसा फेर्दा तिरेको जम्मा ३५० रुपैयाँको कारोबारले नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकलाई १० लाख रुपैयाँको बम्पर उपहार दिलाएको छ।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन पुरस्कार’अन्तर्गत साउन महिनाको दोस्रो बम्पर उपहार प्रहरी नायब निरीक्षक तुल पुडासैनीले जितेका हुन्। उनी बागमती प्रदेश प्रहरी गण, हेटौँडामा कार्यरत छन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पुरस्कार विजेताको घोषणा गरिएको थियो। साउन महिनाको दोस्रो १६ दिनमा प्रत्येक दिन एक–एक जनाका दरले १६ जना र सो अवधिका सबै सहभागीमध्येबाट एक जना बम्पर विजेता गरी कुल १७ जना उपभोक्ता छनोट गरिएको थियो। तिनैमध्ये पुडासैनीको ३५० रुपैयाँको कारोबार बम्पर पुरस्कारका लागि छनोट भएको हो।
बाराको सिमरा स्थायी घर भएका पुडासैनी मोबाइलको कभर र सिसा फेर्न हेटौँडाका दुई–तीनवटा पसल चहार्दै गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिस पुगेका थिए। त्यही पसलमा गरेको सानो कारोबारले उनलाई अप्रत्याशित रूपमा १० लाख रुपैयाँको विजेता बनायो।
‘मोबाइलको कभर र सिसा फेर्न दुई–तीनवटा पसल चहारेर गणेश इलेक्ट्रोनिक्स एन्ड मोबाइल सर्भिसमा पुगेको थिएँ,’ उनले अर्थ मन्त्रालयसँगको कुराकानीमा भने, ‘त्यहीँ गरेको ३५० रुपैयाँको कारोबारबाट १० लाख रुपैयाँको उपहार परेको खबर पाएँ। एकदमै खुसी लागेको छ। सबैतिरबाट बधाई आइरहेको छ।’
सानो रकमको किनमेलमा समेत बिल लिने उनको बानी यसपटक लाखौँको खुसीमा बदलिएको छ। पुडासैनीले पुरस्कारलाई व्यक्तिगत भाग्यसँग मात्र नजोडी सबै उपभोक्तालाई हरेक कारोबारमा अनिवार्य रूपमा बिल लिन आग्रह गरेका छन्।
‘रकम सानो होस् वा ठूलो, सबैले बिल लिनुपर्छ र व्यवसायीले पनि अनिवार्य रूपमा बिल दिनुपर्छ,’ उनले भने, ‘सम्भव भएसम्म डिजिटल माध्यमबाट भुक्तानी गरौँ। यसले कारोबार पारदर्शी बनाउनुका साथै कर प्रणालीलाई पनि बलियो बनाउँछ।’
पुडासैनीको अनुभवले सामान्यतया बेवास्ता गरिने केही सय रुपैयाँको कारोबारको बिल पनि कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाएको छ। मोबाइलमा नयाँ कभर र सिसा राख्न खर्चिएको ३५० रुपैयाँले उनलाई सामानसँगै १० लाख रुपैयाँको बम्पर खुसीसमेत दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।