काठमाण्डौ। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र व्यवसायीसँगको परामर्शपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सरकारी निकायहरूलाई स्वदेशी उत्पादन तथा सेवाको प्रयोगलाई प्राथमिकता दिन आग्रह गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार पत्र जारी गर्दै स्थानीय सीप तथा उद्यमको प्रवर्द्धन, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह तथा विदेशस्थित नेपाली नियोगहरूलाई स्वदेशी वस्तु तथा सेवाको प्रयोग बढाउन अनुरोध गरेको हो।
पत्रअनुसार सरकारी निकायले अब स्टेशनरी, फर्निचर, निर्माण सामग्री तथा खाद्य वस्तु खरिद गर्दा नेपाली उत्पादनलाई प्राथमिकता दिनुपर्नेछ। त्यस्तै, सरकारी बैठक, समारोह तथा विभिन्न अवसरमा प्रयोग गरिने कोसेलीमा नेपाली हस्तकलाका सामग्री प्रयोग गर्न पनि आग्रह गरिएको छ।
सरकारले सार्वजनिक निकायबाट हुने खरिद प्रक्रियालाई स्वदेशी उत्पादनसँग जोड्दै बोलपत्रसम्बन्धी कागजातमा स्वदेशी वस्तुलाई प्राथमिकता दिने व्यवस्था अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने जनाएको छ।
स्वदेशी उत्पादन तथा सेवाको प्रयोगसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि नियमित अनुगमन तथा त्रैमासिक निरीक्षण गर्नुपर्ने प्रावधानसमेत पत्रमा समेटिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।