काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर आज दिउँसो १ बजे प्रदेश सभामा विश्वासको मत लिँदैछन्। तर सरकार गठनका बेला प्राप्त ६३ सदस्यको समर्थन अहिले कायम नरहेपछि मुख्यमन्त्री थापाका लागि विश्वासको मत परीक्षा मात्रै नभई सत्ता टिकाउने निर्णायक संघर्ष बनेको छ।
भदौ ४ गते नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थापासँग अहिले एमालेका २५ र नेपाली कम्युनिष्ट पार्टीका २६ गरी ५१ सांसदको मात्रै प्रत्यक्ष साथ देखिन्छ। ११० सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम रहेकाले मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ मत आवश्यक पर्छ।
मुख्यमन्त्रीलाई थप संकट राप्रपाको निर्णयले पारेको छ। राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्यता र प्रदेश सभा सदस्यबाट समेत कारबाही गरेपछि अन्य तीन सांसदविरुद्ध पनि कारबाही प्रक्रिया अघि बढाएको छ। पार्टीले विश्वासको मतको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ।
उता प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि आफ्ना ३६ सांसदलाई मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न निर्देशन दिएको छ। यसले थापाका लागि विपक्षी दलको समर्थन खोज्ने सम्भावना थप साँघुरिएको छ।
विश्वासको मतको अंकगणितमा नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीको भूमिका महत्वपूर्ण देखिएको छ। प्रदेश सभामा नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।
एमालेले समर्थन फिर्ता लिएपछि हाम्रो नेपाली पार्टीबाट अघिल्लो सरकारमा सहभागी एक सदस्यको मन्त्री पदसमेत समाप्त भइसकेको अवस्थामा उक्त दलले थापा सरकारलाई साथ दिने सम्भावना कमजोर देखिन्छ। पार्टीले सरकार गठनको खेलमा सहभागी नहुने संकेत गरेकाले उसको भूमिका मतदानमा निर्णायक हुन सक्छ।
तीन सांसद रहेको नेमकिपा पनि सरकार निर्माणमा सहभागी नहुने नीति लिँदै आएको छ। उसले समर्थन वा विपक्षमा मतदान गर्नेभन्दा तटस्थ बस्ने रणनीति लिएमा पनि मुख्यमन्त्रीको बहुमत गणित प्रभावित हुन सक्छ।
बागमती प्रदेश सभा अहिले सभामुखविहीन छ। उपसभामुख अप्सरा चापागाईंले संविधानको धारा १८६ अनुसार बैठकको अध्यक्षता गरिरहेकी छन्। तर अध्यक्षता गर्ने उपसभामुखले मत दिन नपाउने अवस्थाले पनि सरकारको पक्षमा पर्ने मत संख्या घट्न सक्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।