सोमबार, भाद्र ८,२०८३ 02:01:30
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 02:01:30
Bizshala
Global IME Bank Limited

हतकडीमै किशोरको ‘बयान’ भाइरल, प्रहरीको गोपनीयतामाथि गम्भीर प्रश्न

हतकडीमै किशोरको ‘बयान’ भाइरल, प्रहरीको गोपनीयतामाथि गम्भीर प्रश्न
New Office

काठमाण्डौ ।   बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको घटनाको अनुसन्धानकै क्रममा पक्राउ परेका एक किशोरको बयानजस्तो देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रिया र गोपनीयता संरक्षणमाथि गम्भीर प्रश्न उठेको छ ।

हतकडी लगाइएको अवस्थामा किशोरसँग गरिएको सोधपुछको दृश्य सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले घटनाबारे छानबिन थालेको छ । संवेदनशील आपराधिक घटनाका आरोपित, अझ बालिग नभएका व्यक्तिको पहिचान खुल्ने गरी भिडियो सार्वजनिक भएको विषयलाई प्रहरीले गम्भीर रूपमा लिएको बताइएको छ ।

भाइरल भिडियोमा हतकडी लगाएका किशोरसँग विभिन्न प्रश्न सोधिएको सुनिन्छ । उनको आसपास दुई जना प्रहरी कर्मचारीसमेत देखिएका छन् । यही कारण भिडियो कसरी र कसको अनुमतिमा रेकर्ड भयो तथा सामाजिक सञ्जालसम्म कसरी पुग्यो भन्ने प्रश्न उठेको हो ।

प्रारम्भिक जानकारीअनुसार उक्त भिडियो कुनै सञ्चारमाध्यम वा पत्रकारले खिचेको नभई किशोरलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला रेकर्ड भएको देखिएको छ । प्रहरी स्रोतका अनुसार मेडिकल परीक्षणका क्रममा उपस्थित एक चिकित्सकले सोधपुछ गर्दा भिडियो खिचिएको हुनसक्ने प्रारम्भिक विवरण आएको छ । त्यसबेला किशोरसँग दुई जना प्रहरी कर्मचारीसमेत खटिएका थिए ।

यद्यपि, भिडियो कसले रेकर्ड गर्‍यो, कसले सार्वजनिक गर्‍यो र प्रहरी कर्मचारीको त्यसमा प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका थियो कि थिएन भन्ने विषय छानबिनपछि मात्र स्पष्ट हुने देखिन्छ ।

संवेदनशील आपराधिक घटनामा पीडितसँगै आरोपितको समेत गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था छ । विशेषगरी नाबालिग संलग्न घटनामा पहिचान खुल्ने गरी तस्बिर, भिडियो वा अन्य विवरण सार्वजनिक गर्नु झन् संवेदनशील विषय मानिन्छ ।

Bizshala
CG Motors

प्रहरीले सामान्यतया पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गर्दा समेत अनुहार ढाकेर प्रस्तुत गर्ने अभ्यास गर्दै आएको छ । यस्तो अवस्थामा हतकडी लगाइएको र पहिचान खुल्ने गरी भिडियो बाहिरिनुले अनुसन्धानमा संलग्न निकायको जिम्मेवारीमाथि प्रश्न उठाएको हो ।

भिडियो सार्वजनिक भएको जानकारी पाएलगत्तै मधेस प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय बारासँग विवरण मागेको छ । प्रहरी प्रधान कार्यालयले समेत छुट्टै रूपमा घटनाको छानबिन अघि बढाएको बताइएको छ ।

छानबिनको मुख्य प्रश्न भिडियो कसरी बाहिरियो, प्रहरीको निगरानीमा रहेका व्यक्तिको गोपनीयता किन जोगिन सकेन र यसमा कसको जिम्मेवारी देखिन्छ भन्नेमा केन्द्रित हुने बताइएको छ ।

यसैबीच, बालिकाको हत्या प्रकरणलाई लिएर सरकार र पीडित परिवारबीच यसअघि गृह मन्त्रालयमा तीन बुँदे सहमति भइसकेको छ ।

गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम, पूर्वाधार विकासमन्त्री सुनील लम्साल, महिला तथा बालबालिकामन्त्री सीता बादी र कृषि तथा वनमन्त्री गीता चौधरीको उपस्थितिमा पीडित बालिकाका अभिभावकसँग सहमति भएको हो ।

सहमतिअनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी आवश्यक संशोधन सिफारिस गर्न कानुन मन्त्रालयले सात सदस्यीय ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्नेछ । समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ ।

त्यस्तै, पीडित परिवारको मागअनुसार बालिकाको स्मृतिमा सालिक निर्माण गर्न पूर्वाधार विकास मन्त्रालयले स्थानीय तहसँग समन्वय गर्ने सहमति भएको छ ।

सरकारसँग सहमति भएपछि परिवारले बालिकाको अन्त्येष्टि आफ्नै धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार गर्ने सहमति जनाएको छ ।

बालिकामाथि भएको जघन्य अपराधको अनुसन्धान जारी रहँदा आरोपित किशोरको भिडियो सार्वजनिक भएको नयाँ घटनाले अब अनुसन्धानको गोपनीयता, प्रहरी आचारसंहिता र नाबालिग आरोपितको कानुनी संरक्षणको विषयलाई समेत बहसमा ल्याएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.