काठमाण्डौ । आर्थिक मन्दीलगायतका कारण मधेश प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य क्षेत्रका १ हजार ९३८ उद्योग–व्यवसाय बन्द भएका छन्। मधेश प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार सो अवधिमा ८२१ उद्योग र १ हजार ११७ वाणिज्य फर्मको लगत कट्टा गरिएको हो।
तर, उद्योग क्षेत्रमा नयाँ लगानीको क्रम भने जारी रहेको छ। गत आर्थिक वर्षमा प्रदेशभर ५ हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्। सबैभन्दा बढी पर्सामा १ हजार १०१ वटा उद्योग दर्ता भएका छन्।
त्यस्तै, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएका छन्।
सोही अवधिमा प्रदेशमा ७ हजार ५४० वटा उद्योग नवीकरण भएका छन्। वाणिज्यतर्फ भने ६ हजार १२२ वटा प्राइभेट फर्म र १८ वटा साझेदारी फर्म नयाँ दर्ता भएका छन्। वाणिज्यतर्फ ११ हजार १४४ फर्म नवीकरण गरिएको मन्त्रालयले जनाएको छ।
उद्योग तथा वाणिज्यसम्बन्धी नयाँ दर्ता, नवीकरणलगायत शीर्षकबाट प्रदेश सरकारले गत आर्थिक वर्षमा ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।
विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाहमा कमी, पुँजी अभाव तथा स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढ्नुजस्ता कारणले उद्योग–व्यवसायको लगत कट्टा हुने सङ्ख्या बढेको जनाइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।